स्वास्थ्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

  ०७८ भदौ २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूह वाणगङ्गाको समन्वयमा स्वास्थ्यको अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम भदौ २५ गते वाणगङ्गामा सम्पन्न भएको छ ।

कार्यक्रममा स्वस्थ्य अधिकारको बिषयमा भएको संवैधानिक व्यवस्था, वाणगङ्गा नगरपालिको स्वास्थ्यको अवस्था र कोभिड–१९ ले पारेको असर लगायतका विषयमा वाणगङ्गा  नपाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आधार पत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उप मेयर चक्रपाणी अर्यालले इन्सेक र मानव अधिकार समूहले वडाहरूका विभिन्न टोलहरूमा गएर देखिएका समस्याहरू उजागर गरेको बताउनु भयो ।

अर्यालले बाढीले विभिन्न स्वास्थ्य चौकीहरूमा पुर्‍याएको क्षतिको नगरपालिकाले केही स्वास्थ्य चौकीको क्षतिपूर्ति गरेको  र केही स्वास्थ्य चौकीका  लागि पहल गरिएको बताउनु भयो ।

गजेहडा स्वास्थ्य चौकीका इन्चार्ज द्रोणप्रसाद बेल्वासेले कोभिड–१९ ले स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा प्रभाव पारेको बताउदै  जोखिमको समयमा स्वास्थ्यकर्मीहरू सक्रिय भएर सेवा प्रदान गरेको बताउनु भयो । बेल्वासेले जनसङ्ख्याको वृद्धि भएपनि महिला स्वास्थ्य स्वयंसेविकाहरूको सङ्ख्या नबढाउँदा  काम गर्न कठिनाई भएको बताउनु भयो ।

मोतीपुर स्वास्थ्य चौकीका इन्चार्ज हेमराज घिमिरेले स्वास्थ्यकर्मीहरु जोखिमका र दवाब मोलेर काम गरेको बताउदै कोभिड १९ विरूद्धको खोप लक्षित समूहले नपाएको बताउनु भयो ।

पटना स्वास्थ्य चौकीका इन्चार्ज परशुराम थारुले स्वास्थ्यचौकी अपाङ्ग मैत्री भएपनि शौचालय अपाङ्ग मैत्री नभएको, डीपो, कुष्ठ रोग लगायतका आवश्यक औषधि समयमा उपलब्ध हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको बताउनु भयो ।

नागरिक समाजका जिल्ला अध्यक्ष तथा मानव अधिकार रक्षक सञ्जालका संयोजक दोलखबहादुर पछाईले सेवाग्राहीहरूलाई छिटो छरितो सेवा दिन सके मात्र नागरिकहरूले अधिकारको अनुभूति गर्ने बताउनु भयो ।

कार्यक्रममा स्थानीय सरोकारवाला निकाय, नागरिक समाज, मानव अधिकार समूहका पदाधिकारीहरू, आमा समूह, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

पार्वती आचार्य