स्वास्थ्यको अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ असोज ७ गते

इन्सेक सल्यानको आयोजनामा बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा स्वास्थ्यको अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते सम्पन्न भएको छ ।

स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजना अन्तर्गत आयोजित कार्यक्रमका सहभागी इन्द्रबहादुर बुढाथोकीले मौलिक हकको रूपमा व्यवस्था गरिएको स्वास्थ्यको विषयमा नगरपालिका गम्भिर नभएको बताउनुभयो ।

‘नागरिकले व्यवहारिक रूपमा मौलिक हकको अनुभूति गर्न पाएका छैनन्, स्वास्थ्य संस्थाहरूमा निःशुल्क प्राप्तहुने औषधिहरू पर्याप्त छैन, स्वास्थ्य संस्थाका धेरै कर्मचारी करारका छन्’ उहाँले भन्नुभयो, ‘अहिले पनि कोरोनाको त्रास बाँकी रहँदै विद्यालयहरू सञ्चालन हुँदैछन तर नगरसभा नै बस्न सकेको छैन ।’

उहाँका अनुसार विद्यालयमा स्वास्थ्य सामग्री खरीदका लागि बजेट विनियोजन नभएको, आइसोलेशनमा शौचालय फोहर भएर प्रयोग गर्नै नमिल्ने खालको भएपनि समस्या समाधानका लागि नगरपालिकाले पहल गर्नुपर्न बताउनुभयो ।

photo20210923 salyan 1

यस्तै अर्का सहभागी दुर्गा वि.सीले नगरका स्वास्थ्य संस्थाहरूले तथ्याङ्क अध्यावधिक नगरेको, गाउँमा कोभिडसँग मिल्दो जुल्दो लक्षणका बिरामी भएपनि परीक्षणको व्यवस्था नभएकाले यस तर्फ ध्यान दिन जरूरी रहेको औल्याउनुभयो ।

शिक्षक गणेश विसीले आफूहरूले मानव अधिकार समूह र रेडक्रसँगको समन्वयमा नागरिक, स्थानिय तह र प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरेको बताउनुभयो । स्वास्थ्य समस्याको बारेमा नगरपालिकाले चासो दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नगरपालिका–१ का अध्यक्ष शान्तबहादुर यरीले सहभागीले उठाएका विषयहरू गम्भीर भएकोले आफूले समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले विद्यालयमा स्वास्थ्य सामग्री खरीदका लागि पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मानव अधिकार समूहका संयोजक तिलक नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले  संविधानमा स्वास्थ्य अधिकार, स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र राष्ट्रिय स्वास्थ्य नीति २०७४ का निर्देशक सिद्धान्तहरू र सो को व्यवहारिक कार्यान्वयनको अवस्था र राज्यको दायित्वका विषयमा जानकारी गराउनु भएको थियो ।

photo20210923 salyan 2

मिना बुढाथोकी