स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७८ भदौ २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको आयोजनामा स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया  कार्यक्रम भदौ २५ गते  बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका–७ का वडा अध्यक्ष सिताराम थारुले गर्भवतीलाई उपचारको लागि अस्पतालसम्म पुर्‍याउनको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको बताउँदै एम्बुलेन्स सेवा लिन नपाएको अवस्थामा अस्पतालसम्म जानको लागि यातायात खर्च वडा कार्यालयले दिने गरेको बताउनु भयो ।

आधारभूत स्वास्थ्य केन्द्र पेडारीका प्रमुख दिवेन्द्र थारुले कोभिड विरूद्धको खोप लगाउने बेलामा वडाका नागरिकहरूलाई पटक पटक फोन सम्पर्क गर्दापनि समयमा नआएका कारण खोप लगाउँन छुटेको बताउनु भयो । उहाँले स्वास्थ्य चौकीबाट दिइने आकस्मकि सेवा लगायतका सम्पुर्ण सेवाहरू नियमित सुचारू रहेको बताउनु भयो ।

बैजनाथ गाउँपालिका–७ का मेलमिलापकर्ता शुरेश लामिछानेले गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स भएकोले सेवा प्रभावकारी नभएको बताउनु भयो । गाउँपालिकाको स्वास्थ्य प्रयोशालाका कर्मचारीहरू समयमा नआउँदा रिपोर्ट ढिलो आउने गरेका कारण बिरामीले समयमा औषधि सेवन गर्न नसकेको बताउनु भयो ।

स्मृति देवकोटा