स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७८ असोज १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम  असोज ११ गते भानु नगरपालिकामा सम्पन्न भएको छ ।

भानु नगरपालिकाले स्वास्थ्यसम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

photo20210928Tanahun4

कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा नगरपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएको बताउनुभयो ।

नगरपालिकाले सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, निःशुल्क औषधि वितरणको व्यवस्था, जेष्ठ नागरिकको घर घरमै पुगी स्वास्थ्य परीक्षण, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता लगायतकोे व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

नागरिकहरु अझै पनि धेरै सचेत नभइसकेको भन्दै पाण्डेले सरकारी स्वास्थ्य संस्थामा सेवा लिन आउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको बताउनुभयो ।

photo20210928Tanahun3

तनहुँ जिल्लामै सुरक्षित सुत्केरी गराउने अस्पतालको रुपमा पुरनडिही अस्पताललाई लिने गरेको भन्दै उनले अन्य स्वास्थ्य संस्थाले पनि प्रभावकारी रुपमा सेवा दिइरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले नागरिकको स्वास्थ्य प्रति संवेदनशिल भएर काम गर्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको बताउनुभयो ।

स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति नगरपालिका सचेत भएको भन्दै जिम्मेवार नागरिकले कमि कमजोरीहरु सार्वजानिक स्थानमा भन्नुभन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाँडै समाधान हुने उहाँको भनाइ थियो ।

सम्पूर्ण वडाहरुमा स्वास्थ्य चौकीको स्थापना गरिएको भन्दै अब तीनै वडाहरुबाट जनतालाई घर दैलोमै सेवा दिने भट्टराईले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार हालसम्म १५ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको जानकारी दिनुभयो ।

कार्यक्रममा भानु स्वास्थ्य चौकीका इञ्चार्ज जितेन्द्र श्रेष्ठले स्वास्थ्य चौकीले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै मानव अधिकार समूहकी सदस्य सिता अधिकारीले स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशचन्द्र भट्टराई