स्वच्छ निर्वाचन पर्यवेक्षणका लागि तयारी बैठक सम्पन्न

स्वच्छ निर्वाचनका लागि विभिन्न पर्यवेक्षण गर्ने संस्थाका पर्यवेक्षकहरूसँग पर्यवेक्षण तयारी बैठक रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान र राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रीय कार्यालय बुटवलको सहकार्यमा स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित रूपमा निर्वाचन सम्पन्न गर्नका लागि पर्यवेक्षणमा एकरूपता ल्याउने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।

बैठकमा पर्यवेक्षकहरूले निर्वाचन आचारसंहिता र पर्यवेक्षकको भूमिकाका विषयमा विगतका अनुभवलाई सिकाईको रूपमा लिएर अगाडि बढनुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागार्इँले विगतको तुलनामा आचारसंहिता उल्लङ्घनका घटनाहरूमा केही कमी आए पनि चुस्तदुरूस्त हुन नसकेको र अनुगमनका क्रममा आचारसंहिता उल्लङ्घन देखिएको बताए ।

चापागाईले निर्वाचनमा बालबालिकाको प्रयोग र प्रचारका रूपमा प्रयोग गरिने टिसर्टसमेत बालबालिकाको साईजमा बनाएर बाँड्ने जस्ता गतिविधिहरू प्रायः सबैजसो राजनीतिक दलहरूबाट भएको बताए ।

इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले पर्यवेक्षकहरूले आचारसंहिता पालना गरे/नगरेको पर्यवेक्षण निर्वाचन आयोगले गर्ने भएकोले आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न सबै पर्यवेक्षकहरूलाई आग्रह गरे ।

खकुरेलले निर्वाचनमा देखिएका कमी कमजोरीहरूलाई पर्यवेक्षण गरेर समयमै आफ्नो संस्थालाई प्रतिवेदन बुझाउन सबै पर्यवेक्षकहरूलाई आग्रह गरे ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष एवम् मानव अधिकार सङ्गठनका केन्द्रिय अध्यक्ष ईन्द्रप्रसाद अर्यालले पर्यवेक्षण गर्दा जुन सुकै आस्था राख्ने भए पनि स्वच्छ रूपमा पर्यवेक्षण गर्न सबै पर्यवेक्षकहरूलाई आग्रह गरे ।

रीमा बि.सी.