स्थानीय सरकार र नागरिक समाजको सहकार्यमा चुनौतीभन्दा अवसर धेरैः सरोकारवाला

नागरिक समाज सङ्घसंस्था र स्थानीय सरकारबिचको सहकार्यमा धेरै अवसरहरू रहेको सरोकारवालाहरूले बताएका छन् । नागरिक समाज सक्रिय भएमा स्थानीय सरकार पारदर्शी र जबाफदेही हुने उनीहरूले बताएका हुन् ।

Photo20180620Nuwakot

पारस्पारिक जबाफदेहिता परियोजना अन्तर्गत युएसएआइडी, एफएचआई ३६० र इन्सेकको आयोजनामा 'वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज र स्थानीय सरकारबिचको सहकार्य, अवसर र चुनौती' विषयक अन्तरक्रियामा सहभागीहरूले स्थानीय सरकारले नागरिक समाजसँग सहकार्य गर्ने र नागरिक संस्थाहरूले पारदर्शी रूपमा काम गरी स्थानीय सरकारसँग सहकार्य गरेमा विकासका कामहरूमा योगदान पुग्ने धारणा राखेका थिए ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नागरिक समाज तथा सङ्घसंस्थाहरूले स्थानीय सरकारको खबरदारी गरेमा स्थानीय सरकार बलियो हुने बताए ।

Photo20180620Nuwakot1

'नागरिक सङ्घसंस्थाहरूले स्थानीय सरकारको योजनाहरूलाई अझै सफल बनाउन भूमिका खेल्नको लागि कार्यक्रम सञ्चालन गर्नु पर्ने र त्यस्ता कार्यक्रममा स्थानीय सरकारको पनि साथ रहने छ ।'- उनले भने-'स्थानीय सरकारलाई निरन्तर खबरदारीको खाँचो रहेको छ ।'

मेयर पण्डितले नागरिक सङ्घसंस्थाहरू पनि आआफ्नो ठाउँमा जिम्मेवार बन्नु पर्ने र आफ्ना काम, योजना, खर्चको विवरणहरू स्थानीय सरकारलाई स्पष्ट जानकारी दिएर सञ्चालन गर्नु पर्ने बताए । उनले नगरपालिकामा तत्काल गैरसरकारी संस्थाहरूको सहजताको लाथि डेस्क स्थापना गर्ने पनि बताए ।

गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष मीनकुमार केसीले स्थानीय सरकारले गैरसरकारी संस्थाहरूलाई कसरी परिचालन गर्ने भन्ने अन्यौलता कायम रहेको बताए । उनले गैरसरकारी संस्थाहरूलाई भविष्यमा बन्द नै गर्ने उद्धेश्यले सरकारले ल्याएको केही नियमहरूको विरोध गरेको जनाउँदै गैससको भूमिकालाई कम आँक्न नहुने पनि बताए । उनले केही गैरसरकारी संस्थाहरूले बदमासी गरेको हुनसक्ने उल्लेख गर्दै सबैलाई एकै डालोमा हालेर हेर्न नहुने बताए ।

नवदीप श्रेष्ठ