स्थानीय तह र नागरिक सङ्घ सङ्गठनहरू बीच सहकार्य आवश्यक

स्थानीय तह र नागरिक सङ्घ सङ्गठनहरू बिच सहकार्य आवश्यक रहेको औँल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भदौ ३० र ३१ गते नेपालगन्जमा आयोजित दुई दिने इन्सेक अभिमूखीकरण कार्यक्रमको उद्घाटनमा उक्त कुरा औँल्याइएको हो ।

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापाले स्थानीय तहमा रहेका सावलहरू उठान गर्न सुझाव दिइन् ।

Photo20190917Banke (1)

उनले स्थानीय तह प्रति नागरिकका अपेक्षा बढी भएको बताउँदै अपेक्षा अनुसार काम हुन नसकेको बताइन् ।

लामो समय जनप्रतिनिधिविहीन भएका नागरिकहरूमा राज्यप्रतिको नैराश्यताका कारण समस्या रहेको बताइन् ।

थापाले स्थानीय तहमा रहेका आन्तरिक द्वन्द्वका विषयमा सुक्ष्म अनुसन्धान गरेर जनप्रतिनिधिको भूमिकामा खबरदारी गर्न आवश्यक रहेको बताइन् ।

बैजानाथ गाउँपालिका अध्यक्ष मानबहादुर रूचालले इन्सेकद्वारा गठित मानव अधिकार समूहको संयोजक भएर मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्दा समस्या समाधानका लागि सरोकारवाला निकायमा जाने गरेको स्मरण गर्दै अहिले निर्वाचित भएर कार्यान्वयन तहमा पुगेको बताए ।

Photo20190917Banke (2)

उनले नेपालको संविधानमा मौलिक हकले प्रत्याभूत गरेका कुराहरू मध्यनजर गर्दै काम गरिरहेको बताए । रूचालले जनताका मौलिक हक प्रति जनप्रतिधि जिम्मेवार हुन आवश्यक रहेको बताए ।

स्थानीय निकायबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा प्राप्त भए नभएको विषयमा अनुगमन जरूरी रहेको रूचालले बताए ।

इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले स्थानीय तहमा के कसरी काम गर्ने भन्ने विषयमा  छलफल गरी अगाडि बढ्ने बताउँदै स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताइन् ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले मानव अधिकार अभिलेखिकरण र प्रसारको काम गर्दै आएको बताउदै विगत द्वन्द्वको समयमा गरेका अभिलेखका कारण थुप्रै पीडितहरूलाई न्याय प्राप्तिमा सहयोग पुगेको बताए ।

उनले आवास, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सचेतना मूलक कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराए ।

निर्देशक गौतमले इन्सेकले निति निर्माण र कानुन संशोधनलगायतका विषयमा समेत सुझाव दिँदै आएको बताए ।

कार्यक्रममा प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १५ जिल्लाका सहजकर्ता इन्सेक केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

स्मृति देवकोटा