स्थानीय तह निर्वाचनमा मानव अधिकारकर्मीको भूमिका विषयमा अन्तरक्रिया सम्पन्न

इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूबिचको अन्तरक्रिया जेठ २७ गते तानसेनमा सम्पन्न भएको छ ।

असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सन्दर्भमा मानव अधिकारकर्मीहरूको भूमिका बिषयमा अन्तरक्रियाका क्रममा छलफल गरिएको हो ।

सो अवसरमा इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले आचारसंहिताको पालनाको अनुगमन र सम्बन्धित निकायको ध्यानाकर्षणका लागि सहभागी मानव अधिकारकर्मीहरूलाई आग्रह गरे ।

जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, मानवअधिकार शिक्षा मञ्चका अध्यक्ष माधव बस्याल, कोक्याप क्षेत्रीय संयोजक राजेन्द्र बस्याल, मानवअधिकार सरोकार केन्द्रका अध्यक्ष दिवाकर पाण्डेले जिल्लामा निर्वाचनको सन्दर्भमा भएको तयारी र मानव अधिकारकर्मीहरूले खेल्दै आएको भूमिकाका विषयमा जानकारी गराएका थिए ।

यज्ञमूर्ति तिमिल्सिना