स्थानीय तहले नागरिकहरूलाई उत्पादनमुखी बनाउनु पर्नेमा जोड

स्थानीय तहले आफ्ना नागरिकहरूलाई उत्पादनमुखी बनाउनु पर्नेमा इन्सेक केन्द्रीय कार्यालयका अर्थ तथा प्रशासन प्रमुख प्रेम पराजुलीले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजनाको अनुगमनका क्रममा भदौ २६ गते पराजुलीले उक्त कुरामा जोड दिएका हुन् ।

पराजुलीले स्थानीय तहमा भएका साधन स्रोतको प्रयोग गरी नागरिकलाई उत्पादनमूखी बनाउन सीप र ज्ञान प्रदान गर्नुपर्ने सुझाव दिए । नागरिकहरूलाई उत्प्रेरित गरेर उनीहरूको आम्दानी बढाउन सके नागरिकहरूले स्थानीय सरकार भएको अनुभूति गर्न सक्ने बताए । उनले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा रहेका समस्या समाधान गर्ने काम पनि स्थानीय तहले सुरू गर्नुपर्ने धारणा राखे ।

बैजनाथ गाँउपालिका-१ का वडा अध्यक्ष रूपबहादुर मल्लले आम नागरिकलाई संविधानमा उल्लेख भएका प्रावधानहरू बुझाउन आवश्यक रहेको बताए । उनले राज्यले लिने करका विषयमा गलत बुझाइ रहेका कारण नकारात्मक आलोचना हुने गरेको तर्क दिए ।

इन्सेक प्रदेश ५ का संयोजक भोला महतले इन्सेकद्वारा सञ्चालित परियोजनाका बारेमा स्थानीय तहको  पृष्ठपोषण आगामी दिनमा कार्यक्रम सञ्चालनमा सहयोगी हुने बताए ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष चित्रप्रसाद शर्माले इन्सेकद्वारा सञ्चालित परियोजनाले जिल्लामा कामगर्न सहज बनाएको बताउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा वडा पालिकामा केही परिवर्तनहरू भएको बताए । उनले बर्थिङ सेन्टर स्थापना निगरानी समूहको उपलब्धिका रूपमा आफूहरूले लिएको बताए ।

यसैगरी अर्थ तथा प्रशासन प्रमुख पराजुलीले इन्सेक ५ नं. प्रदेश कार्यालयका कर्मचारीहरूसँग छलफलसमेत गरेका थिए । भदौ २७ गते प्रमुख पराजुली कर्णाली प्रदेशको अनुगमनका लागि सुर्खेत जाने योजना रहेको संयोजक महतले बताए ।

इन्सेक ५ प्रदेश कार्यालय, नेपालगञ्ज