स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

  ०८१ असोज ५ गते

बराहताल गाउँपालिका–५, बड्डिचौरस्थित स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । इन्सेकको आयोजनामा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा असोज ४ गते स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान गरिएको हो ।

Photo21091024Surkhet.

बैठकबाट शिक्षामा मुख्य समस्याको अन्तर्गत विद्यालयमा सेनेटरी प्याडको अभाव, शिक्षामा अनुगमनको कमी, अपाङ्गमैत्री शौचालय नहुनु, विद्यालय स्तरमा खानेपानीको कमी जस्ता समस्या पहिचान गरिएको छ । त्यस्तै स्वास्थयमा बराहताल गाउँपालिकाको वडा नम्बर १, ३, ६ र १० मा बर्थिङ्ग सेन्टर नहुनु, बालबालिकाहरूले पूर्ण रूपमा खोप नपाउनु, स्वास्थ्य सेवामा सबै खाले सेवा सुविधा नहुनु, स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुनु जस्ता विषयहरू बैठकबाट पहिचान भएको इन्सेकका फोकल पर्सन ललिता विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार वातावरण संरक्षणमा प्लास्टिकजन्य वस्तुहरूको व्यवस्थापनमा कमी, डम्किन साइडको व्यवस्थापन नहुनु, डढेलो र आगलागी हुनु, माटोको शक्ति घट्दै जानु, रसायनिक मल र विषादीको अत्याधिक प्रयोग, वन विनाश हुनु र ढल व्यवस्थापन नहुनु जस्ता समस्याको पहिचान भएको छ । त्यसैगरी विभेदका सवालमा मुख्य समस्याको रुपमा छाउपडी प्रथा, विवाह व्रतबन्ध जस्ता सामाजिक कार्यमा विभेद हुने गरेको, बालविवाह, महिला हिंसा, घरेलु हिंसा जस्ता स्थानीय तह स्तरमा रहेका विभिन्न शीर्षकमा समस्या पहिचान गरिएको छ ।

बैठकबाट पहिचान भएका समस्याहरूलाई मानव अधिकार समूहले जुन निकायसँग सम्बन्धित समस्या हो, त्यो निकायलाई जवाफदेही बनाउने ध्यानाकर्षण गर्नेछ । बैठकमा मानव अधिकार समूहका पदाधिकारी, सम्बन्धित निकायका शाखा प्रतिनिधित्वहरू, बाल अधिकार समूहका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकको सहभागिताबाट समस्या पहिचान गरिएको थियो । सम्बन्धित निकाय स्थानीय तह, विद्यालय र शिक्षा शाखाले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन ललिता विकले बैठक सञ्चालनको सहजीकरण गर्नुभएको थियो ।

Photo21091024Surkhet

जगतदल जनाला विक