स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न

  ०८१ भदौ २६ गते

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजना तथा दुल्लु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा ०८१ भदौ २४ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक दुल्लुमा सम्पन्न भएको छ ।

स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक समापन कार्यक्रममा कार्यपालिका सदस्य रमेश परियारले स्थानीय तहमा समस्या पहिचान र मानव अधिकार समूहको कार्ययोजना बैठकमा उठेका शिक्षा, स्वास्थ्य, वातावरण र विभेदको सवाललाई कार्यपालिकामा उठाउने र कार्यान्वयन गर्न प्रतिबद्धता जनाउनुभयो । उक्त बैठकमा प्रेम देवि माविका निमित्त प्रधानाध्यापक अनन्द दाहाल, नेरा माविका शिक्षक लोकेन्द्र भण्डारी, नगर वन महासंघका अध्यक्ष, सहकारीका अध्यक्ष लगायतले आ-आफ्नो विचार राख्नु भएको थियो ।

कार्यक्रममा स्थानीय तहका समस्या, यस अघि गरेका कार्यक्रमको प्रगति समीक्षा, आगामी दिनमा प्राथमिकताका साथ उठाउनु पर्ने सवालका विषयमा छलफल गरिएको थियो । समस्या पहिचान तथा कार्ययोजना बैठकमा समूहलाई पालिकामा सूचीकृत गर्ने योजना बनाइएको जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी गराउनु भयो । यसैगरी कार्यक्रममा स्थानीय तहको मानव अधिकार अवस्था र स्थानीय तहको यस वर्षको नीति कार्यक्रम र बजेटका विषयमा पनि छलफल भएको थियो ।

समूहले पहिचान गरेका सवालमा गुणस्तरीय शिक्षा नहुनु, दलित बालबालिकाले प्रावि तहमा विद्यालय छोडने समस्या, पिउने पानी स्वच्छ नहुनु लगायतका छन् । यसैगरी अपाङ्गमैत्री स्वास्थ्य कार्यालय स्थानीय तहमा नहुनु, सोधपुछ कक्ष व्यवस्थित नहुनु, वातावरण संरक्षणमा सडक नाला व्यवस्थापन नहुनु र विभेद विरुद्धको अधिकारमा छाउपडी, जातीय विभेद र लैङ्गिक विभेदका समस्या पहिचान गरिएको जिल्ला सहजकर्ता नेपालीले बताउनु भयो ।

पहिचान गरिएका सवाल मध्ये प्राथमिकता र सबैको साझा सरोकारका विषयमा आधारित भई समूहले कार्ययोजना समेत बनाएको छ । कार्यक्रमको अध्यक्षता मानव अधिकार समूहका अध्यक्ष दुर्गे नेपालीले गर्नु भएको थियो भने सहजीकरण इन्सेक सहजकर्ता कलमबहादुर नेपालीले गर्नु भएको थियो ।

Photo11092024Dailekh

Photo11092024Dailekh1

Photo11092024Dailekh2

अमरबहादुर सुनार