स्थानीय कानुन मिडियामैत्री हुनुपर्छः सरोकारवाला

अब बन्ने स्थानीय कानुन मिडियामैत्री हुनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक पोखरा कार्यालय र नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको आयोजनामा फागुन २९ गते गोरखाको सदरमुकाम गोरखा बजारमा आयोजना गरिएको मिडिया साझेदारी कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।

नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापाले स्थानीय सरकारले कानुन बनाउँदा मिडियामैत्री बनाउनुपर्नेमा आवाज उठाउन आवश्इक रहेको बताए । थापाले अहिले जिल्लामा पत्रकारहरू समूहगत रूपमा फिल्डमा जाने र एकताका कारण जिल्लामा पत्रकारहरूलाई जोखिम कम रहेको बताए । थापाले समाचारका विषयमा असन्तुष्टी रहेको खण्डमा सरोकारवाला निकायले प्रश्न गर्ने गरेमा पत्रकारितामा पनि निखार आउन सहयोग पुग्ने बताए ।

गोरखा समाचारका कैलाशबाबु श्रेष्ठले एउटै व्यक्ति पत्रकारितासँगै अन्य व्यवसायमा पनि आबद्ध हुँदा जोखिम बढ्ने गरेको भनाइ राखे ।

दरौँदी दैनिकका शिव उप्रेतीले समाचार बिकाउने नाममा राखिने अतिरञ्जित शीर्षकले अन्य पत्रकारले पनि मानसिक रूपमा तनाव खेप्नुपर्ने गरेको बताउँदै सो विषयले पत्रकारिता प्रतिको भरोसामा समस्या निम्त्याउने बताए ।

कान्तिपुर टिभीमा आबद्ध सञ्चारकर्मी भीमलाल श्रेष्ठले पत्रकार र मानव अधिकारकर्मी दुवै आफ्नो पेशागत मर्यादाका बारेमा गम्भीर भएमा चुनौति कम हुने उल्लेख गरे । रेडियो मनास्लुका दिपक श्रेष्ठले राष्ट्रिय राजनीति स्थिर नहुँदासम्म पत्रकारलाई चुनौति रहिरहने बताए ।

कार्यक्रममा बोल्दै इन्सेक पोखराका संयोजक शिव खकुरेलले पेसाप्रतिको इमान्दारिताले नै पत्रकारिता क्षेत्रमा रहेको चुनौति कम गर्ने बताए ।

इन्सेक कार्यालय, पोखरा