सेवाप्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया  

इन्सेक क्षेत्रीय कार्यलय पोखराको आयोजनामा सेवाप्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया पोखरामा चैत ३० गते सम्पन्न भएको छ ।

स्थानीय समुदायलाइ सचेत पार्दे जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि सेवा प्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ढिकुरपोखरी मानव अधिकार निगरानी समूहकी संयोजक राधा कुँवरले बालमैत्री र अपाङ्गमैत्री विद्यालय नभएको, स्वास्थ्य चौकीमा पानीको अभाव भएकोलगायतका गुनासो गरेकी थिइन् ।

कार्यक्रमका सहभागी बालकृष्ण देवकोटाले अन्नपुर्ण गाउँपालिका अन्तर्गत लुम्लेको विद्यालयमा विषयगत शिक्षक बिना नै कक्षा सञ्चालन भएकोले शिक्षाको गुणस्तर खस्केको आरोप लगाए । त्यस्तै माछापुच्छ्रे गाउँपालिका अन्तर्गत मानव अधिकार निगरानी समूह लाहाचोकका संयोजक नारायण पौडेलले स्वास्थ्य चौकीको भवन नहुनाले स्वास्थ्य सेवा प्रभावित भएको, स्थानीयहरू जिल्ला कृषि कार्यलयले दिने सेवा सुविधाको बारेमा अनविज्ञ रहेकोले सेवा पाउनबाट वञ्चित रहेको र सरकारी विद्यालयमा कम्युटर नभएको गुनासो गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डाक्टर तारानाथ पौडेलले कुनैपनि क्षेत्रमा भएका समस्यालाई एक्लैले समाधान गर्न नसकिने हुँदा सरकारी तथा गैर सरकारी कार्यलय मिलेर काम गरेमा उपलब्धिमूलक हुने बताउँदै इन्सेकले स्वास्थ्य क्षेत्रमा गरेका काममा आफ्नो पनि सहयोग रहने बताए ।

प्रादेशिक संरचना अनुसार स्वास्थ्य संस्थालाइ सहज बनाउँदै लैजानु आजको मुख्य आवश्यकता रहेको उनले बताए ।

जिल्ला प्रशाशन कार्यलय कास्कीका प्रशासकीय अधिकृत अनिल शाहीले राज्यका नीति तथा कार्यक्रम राम्रो भएकाले सफल कार्यान्वयनका लागि निगरानी समूहले निगरानी गरी बेलाबेला झक्झक्याउनु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले सेवा प्रदायक निकाय जति सचेत छ त्यो भन्दा धेरै सेवाग्राही सचेत र जिम्मेवार बन्नुपर्ने बताउँदै यसको लागि गैरसरकारी संस्थाहरूको भूमिका मजबुत हुनुपर्ने बताए ।

त्यस्तै कृषि विकास कार्यलयका योजना अधिकृत इन्द्रमणी लामिछानेले प्राप्त गुनासोका आधारमा कार्यक्रमलाई थपघट गरी लैजान सकिने बताए ।

मानव अधिकार निगरानी समूह कास्कीकी संयोजक दुर्गा थापाले सबै क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारीका साथ काम गर्नु पर्ने बताउँदै इन्सेकले गरेको कामबाट जनताले राहत महशुस गरेको बताइन् ।

संगीता भाट