सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया सम्पन्न

  ०७३ चैत १८ गते

विद्यालयहरूमा प्रविधिको दुरूपयोग भएकोमा विद्यार्थी, अभिभावक र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जको आयोजनामा चैत १८ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच गरिएको अन्तरक्रियामा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

Photo20170331Banke

'प्रविधिको विकाससँगै विद्यार्थीहरूलाई पठनपाठनमा सघाउ पुर्‍याउन र कार्यालयको काम छिटो छरितो बनाउन विद्यालयहरूमा इन्टरनेट सुविधा जडान गरिएका छन् । त्यसबाट फाइदा लिनुको सट्टा त्यसको सही प्रयोग नभएका कारण दुरूपयोग भएको छ ।'-सरोकारवालाको भनाइ छ ।

बाँकेका केही विद्यालयहरूमा त्यस्तो समस्या देखिएको कार्यक्रममा बताइएको छ । यस विषयमा जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले यसको अध्ययन गरी सुधार गर्ने बताए ।

जिल्ला कृषि कार्यालयका अधिकृत वसिर अहमद खाँ र पशु सेवा कार्यालयका डा. भीषण गजमेरले सम्बन्धित कार्यालयले प्रभाह गर्दै आएको सेवाका बारेमा जानकारी गराएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका चक्रबहादुर खड्काले स्वास्थ्य संस्थामा औषधि पठाइएको जानकारी गराएका थिए ।

इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जका संयोजक भोला महतले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा स्थानीय समुदायले पहिचान गरेका समस्याहरूको केही हदसम्म भए पनि समाधान हुनेमा आशावादी रहेको बताए ।

विनोद पाण्डे