सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण

  ०७९ माघ १२ गते

सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल र वीरेन्द्रनगर मानव अधिकार रक्षक सञ्जालको बैठक बसी बैठकले वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वटामा सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण ऐन २०७६ को परिच्छेद–३ को दफा (११) को (३) पूर्ण रुपमा पालना नभएको भन्दै सञ्जालले नगर प्रमुख मोहनमाया ढकाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर शहरलाई स्वस्थ, स्वच्छ र नशामुक्त हुन नसक्दा यसको प्रत्यक्ष असर बालबालिकामा परेकाले सूर्तिजन्य पदार्थ सेवन गर्न प्रोत्साहन गर्ने वातावरणमा बालबालिका हुर्किरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । तसर्थ सूर्तिजन्य पदार्थको बिक्रीवितरण रोक्न सार्वजनिक स्थलहरूमा अनुगमन गरि ऐन नियम विपरित कार्य गर्ने गराउने जो कोहीलाई अविलम्ब कारवाहीको दायारमा ल्याउनका लागि पहल गर्न ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख ढकालले सूर्तिजन्य पदार्थ बिक्री बितरणको सम्बन्धमा अनुगमन गर्ने र यदी बिक्री वितरण भएको पाइएमा कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०७६ को परिच्छेद–३ को दफा (११) को (३) मा कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, ज्येष्ठ नागरिक आश्रम, पुर्नस्थापना केन्द्र, अनाथालय र नेपाल सरकार तथा प्रदेश सरकारले राजपत्रमा सुचना प्रकाशन गरी तोकिएको सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटर दुरी भित्र सूर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न गराउन पाइने छैन भन्ने उल्लेख छ ।

ऐनमा यस्तो व्यवस्था भएपनि वीरेन्द्रनगर नगरपालिकाको १६ वटै वडामा सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०७६ को परिच्छेद —३ को दफा (११) को (३) पूर्ण रुपमा पालन नभएकोे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
Photosurkhet20230126 Photosurkhet20230126.

प्रभाकुमारी रावत