सुशासनले जनविश्वास बढाउँछः सरोकारवाला

डेङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नगेन्द्रबहादुर मल्लले सार्वजनिक सेवालाई पारदर्शी र जबाफदेही बनाउन सके मानव अधिकार बहालीको प्रारम्भ मान्न सकिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजनाको अनुभव आदानप्रदान कार्यक्रममा जेठ २४ गते उनले भने-'सुशासन, पारदर्शिता र जबाफदेहिताले जनविश्वास बढाउन मद्दत गर्दछ ।'

Photo20170608Dailekh

सो अवसरमा अध्यक्ष मल्लले इन्सेकलगायतका संस्थाले सामाजिक जनचेतना अभिवृद्धि गर्ने र सरकारी निकायलाई उत्तरदायी बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै डुङ्गेश्वर गाउँपालिका त्यस्ता रचनात्मक काममा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पन्थीले इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूह, बाल अधिकार चेतना समूह र युवा समूहले ग्रामीण क्षेत्रमा चेतनास्तर उठाउन गरिएका क्रियाकलापलाई अझै परिणाममूखी बनाउन सुझाव दिए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. शोभित थापा, जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राजु भूज, महिला विकास निरीक्षक सरला रेग्मीलगायतले इएलपी कार्यक्रमका क्रियाकलाप र सामाजिक न्यायमा पारेको प्रभाव बारे आआफ्नो विचार राखेका थिए ।

उक्त कार्यक्रममा पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिकाको सदस्य पदमा निर्वाचित भएका मानव अधिकार निगरानी समूहका सदस्य कमला केसी, प्रमिला सुनार र कृष्णा नेपालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

अनुभव आदानप्रदान कार्यक्रममा इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता एवम् जिल्ला प्रतिनिधि अमर सुनारले गत असोजमा घरधुरी सर्वेक्षणको कार्यदेखि ०७४ जेठ महिनासम्म २ लाख ७१ हजार ९ सय ३८ रूपियाँ खर्चको विवरण तथा क्रियाकलाप प्रस्तुत गरेका थिए ।

असार महिनामा कार्यक्षेत्रका ५ विद्यालयलाई ३० हजारका दरले डेढ लाख भौतिक सामग्री निर्माणमा सहयोग गर्ने र चालु आर्थिक वर्षको अन्तिम असार महिनामा इन्सेक र समुदायका क्रियाकलापसमेत सम्पन्न गर्न ७९ हजार रूपियाँ खर्च हुने कार्ययोजना रहेको जिल्ला सहजकर्ता सुनारले जानकारी दिए ।

अमर सुनार