सुकुमवासी भूकम्पपीडित भन्छन्-'सरकारले घडेरी दिएन'

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २८ गते भीमेश्वर नगरपालिका वडा नं. २ मा आयोजित भूकम्पपीडितको राहत तथा पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश भूकम्पपीडितहरूले पुस्तौँदेखि अर्काको जमीनमा कमाई गरी खाएको र आफ्नो जग्गा नहुँदा घर बनाउन नपाएको गुनासो गरेका छन् ।

Photo20171215Dolakha

भीमेश्वर नगरपालिका-२ का करिब ५० घरधुरी अधिकांश तामाङ र थामी जातिका परिवारले पुस्तौँदेखि अर्काको जमीन मोहीको रूपमा खनजोत गरी खाने गरेकोमा हालसम्म उनीहरूको नाममा घर घडेरीको व्यवस्था नभएको हुँदा सम्बन्धित पक्षले तत्काल ध्यान दिनुपर्ने स्थानीय स्टालिन श्रेष्ठले बताए ।

अर्काको जग्गामा घर बनाई मोहीको रूपमा बस्दै आएको र २०५१ सालमा जग्गा नापी हुँदासमेत उनीहरूको पक्षमा जग्गा नापी, नक्सा बन्न नसकेको उनीहरूको गुनासो छ ।

Photo20171215Dolakha1

भूकम्प पश्चात घर बनाउन पहिलो किस्ता लिनका लागि सम्बन्धित जग्गा धनीहरूले भत्केका घडेरीमा नै घर बनाउन मञ्जुरीनामा लिई पहिलो किस्ता लिएका र घर बनाएर दोश्रो किस्ताका लागि पुनः मञ्जुरीनामा लिन जाँदा जग्गाधनीले मञ्जुरीनामा नदिएकोले बिचल्लीमा परेको भूकम्पपीडित आइतीमाया थामीले बताइन् ।

भीमेश्वर नगरपालिका-२ का अध्यक्ष विराजमान श्रेष्ठले आफ्नो जग्गा कमाई गरी बस्दै आएका भूकम्मपीडितहरूलाई घडेरीका लागि आफ्नो जग्गा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । साथै अध्यक्ष श्रेष्ठले आफ्नो पहलमा जग्गाधनी र पीडितबिच पुलको काम गरी घडेरी उपलब्ध गराउन प्रयास गर्ने बताए ।

Photo20171215Dolakha2

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दोलखाका प्रमुख एकराज अधिकारीले जग्गाधनी र मोही बिचको यो समस्या समाधानमा मालपोत, नापी, पुनर्निर्माण प्राधिकरण, स्थानीय प्रशासन, जनप्रतिनिधि सबैको साझा प्रयासबाट सम्वादको थालनी गर्न आफ्नो पहल रहने बताए ।

उद्धव पोखरेल