सामाजिक सञ्जालको असरबारे अभिमुखिकरण

  ०७८ चैत १५ गते

राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजविराजमा चैत १५ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, नगरस्तरीय मानव अधिकार निगरानी समूहको सहकार्य र पब्लिक बिन्देश्वरी माविको समन्वयमा “सामाजिक सञ्जालले विद्यार्थीमा पारेको असर र जोगिने उपाय”का बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

बाल अधिकार चेतना समूहको कार्ययोजना अनुसार भएको अभिमुखिकरण कार्यक्रममा कक्षा ८, ९ र ११ कक्षाका १ सय ३१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले सामाजिक सञ्जाल प्रयोग गर्ने कि प्रयोग हुने कुरामा सबैले विचार पु¥याउनु पर्ने बताउनु भयो ।

सामाजिक सञ्जालप्रतिको आकर्षण र मोहले प्रयोगसँगै दुरुपयोगको क्रम बढेकोले जीवनलाई आक्रान्त पारेको बताउँदै उहाँले नकारात्मक असरले सामाजिक र पारिवारिक विचलनसँगै व्यक्तिमा संवेगात्मक विचलन हावी भइरहेकोमा चिन्ता व्यक्त गर्नु भयो ।

‘विभिन्न सूचना र जानकारी पाइने इन्टरनेटमार्फत स्क्रिनमा धेरै समय बिताउँदा युवा जमातमा लत बढेको छ । समय र धनकोे बर्बादीसँगै स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको छ ।’–पोखरेलले भन्नुभयो–‘बालबालिकाको विकासका लागि परिवारसँगको कुराकानी महत्वपूर्ण हुने भएपनि बालबालिकाहरू सामाजिक सजालमा घण्टौँ समय बिताउन एकान्त मन पराउन थालेका छन् । सञ्जाललाई बढी समय दिँदा परिवारसँगको सम्वाद कम भएको छ र कृतिम सम्बन्धले बढी महत्व पाएको छ ।’

इन्टरनेट बिना बाँच्नै नसक्ने विश्व परिवेशमा सामाजिक सञ्जालमा आएका सामग्रीमध्ये के हेर्ने, के पढने, के शेयर गर्ने र के लेख्ने भन्ने प्रश्न चेतनशील मानिसले स्वयम्सँग गरिरहनु पर्ने पोखरेलले बताउनु भयो ।

अनलाइन डेस्क