सामाजिक संस्थाहरूको सुशासनको अवस्था विषयक छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा रामेछाप जिल्लामा रहेका सामाजिक संस्थाहरूको आन्तरिक सुशासन तथा सामाजिक संस्थाले भोगेका समस्या र समाधानको उपाय विषयक छलफल कार्यक्रम भदौ ११ गते मन्थलीमा सम्पन्न भएको छ ।

Photo20170828Ramechhap

कार्यक्रममा रामेछाप जिल्ला बारका अध्यक्ष पाण्डव प्रसाईँले सङ्घ संस्थासम्बन्धी कानुनी व्यवस्था तथा सामाजिक संस्थाहरूको सकारात्मक र सुधार गर्नु पर्ने विषयको बारेमा अवधारणा प्रस्तुत गरेका थिए । उनले नेपालका सामाजिक संस्थाहरूले विषय वस्तुको उठान र त्यसको अगुवाइमा उल्लेख्य भूमिका निर्वाह गरको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ रामेछापका उपाध्यक्ष भूवन श्रेष्ठले सङ्घ संस्थासम्बन्धी राज्यको ऐन नै पूर्वाग्रही र अपुरो रहेको बताए । अहिले पनि सङ्घसंस्था दर्ता ऐन २०३४ मा रहेर सामाजिक संस्थाले काम गर्नु परिरहेको बताए ।

कार्यक्रममा महासङ्घका पूर्व मध्यमाञ्चल क्षेत्रीय सदस्य गोपाल श्रेष्ठले गैससले सरकार र सरकारले गैससलाई औँला ठड्याउने काम रोकी मिलेर अघि बढ्नु पर्ने बताए । नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले गैसस भित्र आन्तरिक अनुसाशन आवश्यक रहेको बताए ।

रामेछाप रेडक्रसका सभापति शिवकुमार कार्कीले सबै संस्था एकहोरो भएर आफ्नो काममा लाग्दा कुरा काट्ने बढेकाले आन्तरिक छलफल गरी देखिएका समस्या र विकृतिको सुधारमा लाग्नु पर्नेमा जोड दिए । बाल अधिकारकर्मी लव श्रेष्ठले गैसस भित्रै पनि खबरदारी गर्ने फोरमको आवश्यकता रहेको बताए ।

नवराज पथिक