सहकारीमा आबद्ध महिलालाई महिला अधिकारसम्बन्धी अभिमूखीकरण

  ०७७ फागुन २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन) नेपाल र सम्झना कृषि सहकारी संस्था लि. को संयुक्त आयोजनामा फागुन २४ गते चापागाउँमा महिला अधिकारः मानव अधिकार विषयक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नपालको आधार’ भन्ने मूल नाराका साथ १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चापागाउँ र छम्पीका अगुवा महिलालाई मानव अधिकारसम्बन्धी अभिमूखीकरण गरिएको हो ।

इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले संविधान र कानुनमा महिला अधिकारको व्यवस्था तथा अधिकारको कार्यान्वयनका विषयमा सहभागीहरूलाई जानकारी दिनु भयो ।

photo20210308lalitpur (2)

उहाँले समाजको सकारात्मक रुपान्तरणका लागि महिलाको क्षमता अभिबृद्धि गर्नु आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा पाटन संयुक्त क्याम्पसका लेक्चरर विनम्र न्यौपानेले महिला अधिकार, यसको ऐतिहासिक पृष्ठभूमि र नेपालको अवस्थाका बारेमा सहभागीहरूलाई जानकारी गराउनु भएको छ ।

कार्यक्रममा इह्रिकन नेपालकी गीता दाहालले महिलाको आर्थिक अवस्था सुधार नभएसम्म महिला अधिकार कागजमै सीमित हुने बताउनु भयो ।

सहकारीमा आबद्ध महिलाले आआफ्नो ठाउँमा अधिकारका पक्षमा वकालत गर्नुपर्ने सम्झना कृषि सहकारी संस्था लि. का अध्यक्ष पुरुषोत्तम हुमागाईँले बताउनु भयो ।

photo20210308lalitpur (1)

अनलाइन डेस्क