समीक्षा तथा कार्ययोजना र रणनीतिक बैठक सम्पन्न

Photo 20240301 Saptari 1

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिकामा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीतिक सम्बन्धको बैठक ०८० फागुन १८ गते भएको छ ।

मानव अधिकार समूहको बैठकले शिक्षा, स्वास्थ्य, वातावरण, महिला हिंसा र सबै प्रकारका समस्याहरू सम्बन्धमा आगामी कार्ययोजना, ध्यानाकर्षण,रणनीति बारे छलफल गरी निर्णय गरेको छ । शम्भुनाथ नगरपालिका भित्रका समस्याहरू बारे विगतमा बनाइएको कार्ययोजना अनुरुप विविध रूपमा कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको छ । वैठकले महिला हिंसा पीडित र न्यायबाट वञ्चित व्यक्तिहरुको विषयमा नगर प्रमुख, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा र सम्बन्धित शाखालाई ध्यानाकर्षण गर्ने, न्यायको पहल गर्ने र शम्भुनाथ नगरपालिकाभित्र हुने महिला हिंसा विरूद्धमा मानव अधिकार र वातावरण संरक्षणको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

शम्भुनाथ नगरपालिका स्तरीय मानव अधिकार समूहले स्थानीय तहको समस्या पहिचान गरी कार्ययोजना निर्माण गरेको र समस्याहरूबारे नगर प्रमुखलाई फागुन महिनामा ध्यानाकर्षण गराउने योजना बनेको सहजकर्ता अजय परियारले जानकारी दिनु भयो । उहाँले वडा स्तरिय मानव अधिकार समूह समेत गठन हुने बताउनु भयो ।

कार्यक्रममा समूहका अध्यक्ष पुलकित भगतले मानव अधिकार संरक्षण गर्नु मानवको दायित्व भएको बताउनु भयो । अधिकारलाई सर्वसुलभ र व्यक्तिको पहुँच सम्म पुर्‍याउने योजनाका साथ नगरमा बाल मैत्री विद्यालय, स्वास्थ्य सेवामा समान पहुँच, स्वच्छ वातावरण मानव अधिकारको कार्ययोजना र रणनीति तयार गरिएको मण्डलले बताउनु भयो ।

प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देवीमाया भट्टराईले पीडित व्यक्तिहरूको पहिचान गरेर न्यायको पहल गर्न सबै वडामा मानव अधिकार समूह गठन गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो । विद्यालय, स्वाथ्य चौकी अनुगमन गरी राज्यले दिएको सेवा अनुसार सुविधा भए वा नभएको पहिचान गरी नगर, जिल्लाबाट हुन नसकेको समाधान प्रदेश कार्यालय र मन्त्रालयसम्म ध्यानाकर्षण गराइने उहाँले बताउनु भयो ।

नगरपालिका सदस्य बाबुराम भगतले मानव अधिकार समूहले बनाएको योजना आगामी आर्थिक वर्षको नगर सभामा लैजाने र स्विकृतीका लागि पहल गर्ने विश्वास दिलाउनु भयो ।

मानव अधिकार समूहले स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य,वातावरणको अधिकार तथा लैङ्गिक हिंसा र जातीय विभेद विरुद्ध सचेतनामूलक कार्यक्रमसँगै मानव अधिकारको रक्षाका लागि काम गरिरहेको छ ।

Photo 20240301 Saptari Photo 20240301 Saptari 2

मनोहरकुमार पोखरेल