समावेशी सहभागितामुलक योजना प्रक्रिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानवअधिकार सम्बद्ध सरोकारवालाहरुको उपस्थितिमा समावेशी सहभागितामुलक योजना प्रक्रिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम पर्वतको कुश्मामा वैशाख १२  गते सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), डिडा नेपाल पोखरा, आइएनएफ नेपाल र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश पोखराको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागीहरुले स्थानीय सरकार मानवअधिकारको सम्वद्र्धनमा उत्तरदायी बन्न नसकेको बताउँदै स्थानीय सरकार र जनप्रतिनिधि जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममां कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले अन्तराष्ट्रिय मुलुकहरुको तुलनामा नेपालमा मानवअधिकारको रक्षा एवं अधिकारको प्रत्याभूति हुन नसकेको बताउँदै स्थानीय सरकारले सुधारोन्मुख प्रयासका लागि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफुले नेतृत्व गरेको नगरपालिकामा जुनसुकै अधिकार प्रत्याभूतिका लागि तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले अधिकारबाट वञ्चित नागरिकलाई तथ्याङ्किकरण गरेर अधिकार प्रत्यायोजनका लागि कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

त्यस्तै विहादी गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी तिवारीले आफ्नो स्थानीय तहमा परिचय पत्र वितरण सँगै अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री समेत प्रदान गरिएको बताउँदै बालबालिका, जेष्ठनागरिक लगायत सबै क्षेत्रका व्यक्तिहरुलाई अधिकार प्रदान गर्न विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका खेमराज शर्मा सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालमा विद्यमान कानुनको अवस्थाका बारेमा चर्चा गर्दै कानुन नीति नियम निर्माणमा नेपाल धनी भएपनि कार्यान्वयनको चरणमा फितलो भएको दुखेसो व्यक्त गर्नुभयो ।

कार्यपत्रमाथि चर्चा गर्दै इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले अधिकार प्राप्तिका लागि लड्दै आएको वर्गको सशक्तिकरणका लागि कानुन कार्यान्वयन आवश्यक रहेको बताउँदै स्थानीय सरकारले त्यसको सुरुवात गर्नुपर्ने कुरा औल्याउनुभयो ।

डिडा नेपाल पोखराका अध्यक्ष दिपक शर्मा तिमिल्सिनाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा आइएनएफ नेपालका ताराहाङ तावा, डिडा नेपाल पोखराका गिरिधारी सुवेदी, जिल्ला समन्वय समिति पर्वतका समन्वय अधिकारी कमल पुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मी, स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखाका शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

prgoram1 081-1-12 parbat

program2 081-1-12 parbat

program3 081-1-12 parbat

program4 081-1-12 parbat

सन्तोष थापा