समान कामको समान ज्याला कार्यान्वयन गर्न प्रतिबद्ध छा‌ैं ։ उपाध्यक्ष खत्री

  ०७६ पुस २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा काठेखोला गाउँपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक  अधिकारको सवालमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन खत्रीले मानव अधिकार समूहले उठान गरेको महिला र पुरूष बीचको असमान ज्याला र बजार अनुगमन गर्नका लागि तुरुन्तै कदम चल्ने बताउनुभएको थियो ।

काठेखोलामा गठित मानव अधिकार समूहले समान कामको समान ज्याला निर्धारण तथा नियमित बजार अनुगमन गर्न गाउँपालिकाका उपाध्यक्ष खत्रीलाई कार्यक्रममा अनुरोध गरेको थियो ।

मानव अधिकार समूहका संयोजक भेषकुमारी भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भण्डारीले महिलाले पुरूष सरह काम गरेपनि पुरूषको तुलनामा महिलाको पारिश्रमिक आधामात्र भएको भन्दै समान ज्याला हुनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले कार्यक्रममा गाउँपालिका भित्र रहेका किराना पसलहरूको अनुगमन नहुँदा अखाद्य वस्तुको बिक्री वितरण हुने गरेको भन्दै नियमित बजार अनुगमन गर्न माग गरिएको बताउनुभयो ।

उपाध्यक्ष खत्रीले गाउँपालिकालाई मानव अधिकार मैत्री बनाउनको लागि मानव अधिकार समूहसँग मिलेर अगाडि बढ्ने बताउनुभएको थियो। उहाँले गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्नका लागि मानव अधिकार समूहसँग मिलेर जनचेतनामूलक कार्यक्रमहरु गर्ने बताउनुभएको छ ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि, मानवअधिकार समुहका सदस्य, कर्माचारी र स्थानीयहरुलाई पूर्व महिला विकास अधिकृत तथा अधिवक्ता लक्ष्मी जि.सी कार्कीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले गाउँपालिकामा महिला, बालबालिकाको सुरक्षा र उनीहरूको समस्या समाधान गर्नको लागि सेवा केन्द्र आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाको शिक्षा स्रोत व्यक्ति पुर्ण प्रसाद ढुङगानाले सरकारले निर्देशन गरेका सम्पुर्ण सेवाहरु गाउँपालिकाले प्रदान गरेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको र निजी विद्यालयमा बढेको देखेपछि गाउँपालिकाले सामुदायिक विद्यालय प्रति विद्यार्थीहरुलाई आकर्षण गर्न गत वर्षबाट कक्षा १ देखि ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरू गरिएको बताउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य अधिकृत रामचन्द्र लामाले सरकारले तय गरे बमोजिम सम्पुर्ण स्वास्थ्य सम्बन्धित सेवा सुविधा गाउँपालिकामा उपलब्ध रहेको बताउनुभयो ।

photo20200109baglung (1)

photo20200109baglung (2)

photo20200109baglung (3)

सिर्जना पन्त