समस्या पहिचान गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल

  ०७८ भदाै १९ गते

मन्थली नगरपालिकामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको समस्या पहिचानसम्बन्धी छलफल कार्यक्रम ०७८ भदौ १८ गते सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, मानव अधिकार संरक्षण सञ्जाल र हुराडेक नेपालको आयोजनामा कार्यक्रम भएको हो ।

मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीले स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाउन माग गरेका थिए । रामेछापमा सञ्चालनमा रहेको स्वास्थ्य बिमाको औषधी र सेवा एकै ठाउँबाट नपाउँदा बिरामीले सास्ती व्यहोर्नु परेको उहाँहरूको गुनासो थियो ।

सहभागीPhotoramechhap220210904ले औषधी र अन्यसेवा लिँदा दर्ता प्रक्रियामा दोहोरो शुल्क तिर्न परेको, सिफारिस गर्ने स्वास्थ्य संस्था तथा औषधी र अन्य सेवा दिने स्वास्थ्य संस्था बीचको दूरी टाढा हुँदा वृद्धवृद्धा, असक्त तथा अन्य नागरिकले समेत समस्या भोग्नु परेको, स्वास्थ संस्थाका कर्मचारीको रुखो व्यवहार भएको गुनासो गर्नुभएको थियो ।

स्वास्थ्य संस्थाको पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने, औषधी व्यवस्थापन, स्वास्थ्यकर्मीको उचित व्यवस्थापन लगायतको क्षेत्रमा समस्या रहेको उहाँहरूको भनाइ थियो ।

सहभागीले कोभिडको बीचमा विद्यालय खुल्न लागेको बताउँदै विद्यालय खोल्नु अघि शिक्षक, अभिभावकसँग सचेतनामूलक अन्तरक्रिया गर्नु पर्ने सुझाव थियो ।

विद्यार्थीको स्वास्थ्य, पठनपाठनको निरन्तरता, समयमा कोर्स पूरा गर्ने लगायतका समस्या शिक्षा क्षेत्रका समस्या भएको उहाँहरूको भनाइ थियो ।

मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सेवा शुल्क दोहोरो हुनुनहुने बताउँदै त्यसमा सुधार गरिने बताउनुभयो । उहाँले नागरिक समाजबाट आएका सुझावका आधारमा सेवामा सुधार गरिने बताउनुभयो ।

मन्थली नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकी भदौ २७ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मन्थली नगरपालिकामा विद्यालय सञ्चालन गर्ने जानकारी दिनुभयो ।

यसको लागिPhotoramechhap320210904 शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला बीच छलफल गर्ने उहाँले बताउनु भयो ।

मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बिमाको सेवामा केही समस्या भएको बताउँदै त्यसलाई सुधार गर्दै लैजाने बताउनुभयो ।

तामाकोसी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बिमाको औषधी लिन आउनेलाई टिकट शुल्क लिन सुरु गरिएकोमा सबैको सुझावको आधारमा सो बन्द गरिसकिएको बताउनुभयो ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासङ्घका केन्द्रीय सदस्य मिलन घिसिङ, महासङ्घका जिल्ला अध्यक्ष भुवनकुमार श्रेष्ठ, रामेछाप बारका अध्यक्ष विचारसिंह तामाङ, वकिल, पत्रकार, नागरिक अगुवा लगायतले विभिन्न सुझाव दिनुभएको थियो ।

नबराज पथिक