समयमै खोप उपलब्ध गराउन ध्यानाकर्षण

  ०७८ साउन ८ गते

कर्णाली प्रदेशका नागरिकहरूलाई समयमै र सहज रूपमा कोभिड–१९ विरूद्धको खोप उपलब्ध गराउन सरोकारवालाहरूको ध्यानाकर्णण गरिएको छ ।

इन्सेकको नेतृत्वमा जिल्ला स्थित विभिन्न नागरिक संघ संस्थाहरूले साउन ८ गते संयुक्त पे्रस विज्ञप्ति जारी गरी सरोकारवालाहरूको ध्यानाकर्षण गरेका हुन ।

विज्ञप्तिमा संविधानको धारा १६ मा प्रत्येक व्यक्तिलाई सम्मान पूर्वक बाँच्न पाउने हकको व्यवस्था, जन स्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ को उपदफा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा बन्चित गरिने छैन भन्ने प्रावधान रहेपनि कर्णाली प्रदेशका नागरिकहरूले हालसम्म पर्याप्त र सहज रूपमा खोप उपलब्ध नगराइएकोप्रति आफूहरूको ध्यानाकर्षण भएको उल्लेख छ ।

‘खोप लगाउन बाँकी रहेका सबै नागरिकहरूलाई यथासम्भव छिटो उपलब्ध हुनेगरी खोपको आपूर्तिको व्यवस्था मिलाउन हामी संघीय, प्रदेश सरकार र स्थानीय तह समक्ष अनुरोध गर्दै खोपको आपूर्ति गर्दा बढी प्रभावित क्षेत्र तथा स्थान विशेषलाई प्राथमिकतामा राखेर वितरणको व्यवस्था मिलाउन समेत सम्बन्धीत निकायलाई आग्रह गर्दछौं’ विज्ञप्तिमा जनाइएको छ ।

यस्तै विज्ञप्तिमा यसअघि खोप लगाउँदा उमेर, वर्ग र पेशाका आधारमा लगाइएका खोपमा लक्षित समूहले सहज रूपमा खोप नपाएको, खोप केन्द्रको व्यवस्थापनको आवश्यक तयारी नपुगेको लगायतका गुनासोहरू लक्षित समुदायबाट आएको कुरा उठाइएको छ ।

आगामी दिनमा खोप केन्द्रको प्रभावकारी व्यवस्थापन गर्दै, लक्षित समूहलाई सहज रूपमाखोप लगाउने व्यवस्था मिलाउनुको साथै पछिल्लो समय प्रदेशमा कोभिड–१९ सङ्क्रमणको अवस्था कायम रहेकाले सङ्क्रमणबाट नागरिकहरूलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिमको क्वारेन्टाइन निर्माण र सुविधाको व्यवस्था मिलाउन समेत हामी स्थानीय, प्रदेश र संघीय सरकारलाई सरोकारवालाले आग्रह गरेका छन् ।

20210723 Surkhet

दुर्गा थापा