समयमा औषधि, कृषि मल र बीउ उपलब्ध गराउने सरोकारवाला निकायको प्रतिबद्धता
जिल्ला जनस्वास्थ्य, कृषि तथा पशु सेवा कार्यालयका प्रमुखले जनताका आवश्यकता अनुसारको औषधि, कृषि मल र बीउ समयमा जिल्लाका सबै स्थानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
इन्सेक सुर्खेतको आयोजनामा जेठ २५ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठकमा इन्सेकद्वारा गठित गुर्भाकोट नपा-१ र २ स्तरीय तथा ४, ५ र ९ स्तरीय मानव अधिकार निगरानी समूहले (साविकको मालारानी र साहारे गाविस) पहिचान गरेका सवालमा सेवा प्रदायक निकायबाट प्रवाह गरिने सेवा तथा स्थानीय स्तरमा देखिएका कृषि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालको जवाफ दिँदै ती कार्यालयका प्रमुखहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भु ज्ञावलीले राज्यको नीति अनुरूपको निशुल्क पाइने सबै औषधि जिल्ला जनस्वास्थ्यमा समेत उपलब्ध नभएको जानकारी गराउँदै जनतालाई दिनहुँ आवश्यक पर्ने औषधि समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
यस्तै जिल्ला कृषि विकास कार्यालयका प्रमुख कालिकाप्रसाद कोइराला र जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख नारायण न्यौपानेले आफ्ना सेवा केन्द्रमार्फत सहजरूपमा कृषि मल, बीउ, पशु र कृषिबालीमा लाग्ने रोगका औषधि समयमा उपलब्ध गराउने प्रतिबद्धता जनाए । साथै कोइराला र न्यौपानेले कृषि तथा पशु बीमाको बारेमा सचेतना अभिवृद्धि गर्दै बीमा कम्पनीहरूसँग समन्वय गरी गाउँगाउँका कृषकहरूलाई यसतर्फ आकर्षित गराउने प्रतिबद्धता पनि जनाए ।
जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले शैक्षिक क्षेत्रमा देखा परेका विद्यालय व्यवस्थापन समिति गठन, भौतिक संरचना तथा विषयगत शिक्षकको अभाव, पाठयपुस्तक समयमा नपुग्ने र छात्रावृत्ति वितरणमा देखिएका समस्यालाई निराकरण गर्नेतर्फ आफू लागिपर्ने प्रतिबद्धता जनाए । जिशिअ शाहले शैक्षिक क्षेत्रमा देखापरेका समस्याका विषयमा आफूलाई जानकारी दिन आग्रह गर्दै स्थानीय स्तरबाट समाधान हुने समस्यामा तत्काल त्यहींबाट समाधान गर्न निर्देशन दिने र जिल्लाबाट समाधान हुने विषयमा आफूले कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा गुर्भाकोट नपा १ र २ स्तरीय निगरानी समूहका अध्यक्ष निर्देश वली र गुर्भाकोट नपा ४, ५ र ९ स्तरीय निगरानी समूहका अध्यक्ष मोतिलाल बिकले समूहले स्थानीय स्तरमा छलफल गरी पहिचान गरेका समस्या र समाधानका उपायका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…