सन् २०२२ को मानव अधिकार अवस्थाको समीक्षा कार्यक्रम सम्पन्न

  ०७९ मङ्सिर २५ गते

लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियानको समापन, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा जिल्लाको सन् २०२२ को मानव अधिकार अवस्थाको समीक्षा कार्यक्रम ०७९ मङ्सिर २५ गते मन्थलीमा सम्पन्न भएको छ ।

मन्थली नगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।

318638140_1316982555511593_7374015273896302845_n

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मानव अधिकार उल्लङ्घनका घटना बुझेकै मान्छेबाट भइरहेकोले त्यसलाई रोक्न समस्या हुने गरेको बताउनुभयो ।

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले लैङ्गिक हिंसा न्यूनीकरण तथा मानव अधिकार संरक्षणको लागि निरन्तर कार्यक्रम सञ्चालन भइरहेका भए पनि सोचे जस्तो प्रगति हुन नसकेको बताउनुभयो ।

जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुङ्गेलले न्यायाधिवक्ताको कार्यालयमा आएका मुद्दा मध्ये आधाभन्दा बढी महिला हिंसाका घटना नै भएको बनाउनुभयो ।

साथै त्यसमा पनि बलात्कार, बलात्कारको प्रयास र यौन दुर्व्यवहारका मुद्दा भएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी राजकुमार थिङले प्रविधिको विकाससँगै अपराधका प्रकृति पनि फेरिँदै गएको बताउनुभयो ।

अहिले डिजिटल रूपमा हुने हिंसाका घटना बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐतिहासिक दस्ताबेज भएको पनि उहाँले बताउनुभयो ।

साथै मानव अधिकारको बारेमा अध्ययन अनुसन्धान गर्न इन्सेकको वर्ष पुस्तक उपयुक्त सामाग्री भएको उहाँले उल्लेख गर्नु भयो ।

318510609_455093023451954_7606959218452444332_n

जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रशासकीय अधिकृत सुनिता थापाले आर्थिक, सामाजिक, लैङ्गिक तथा पारिवारिक विभेदका कारण आत्महत्याका घटना बढ्दै गएको बताउँदै यसको न्यूनीकरणको लागि सचेतना नै मुख्य साधन हुने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको तर्फबाट मानव अधिकार र नागरिकका अन्य अधिकार संरक्षणको लागि निरन्तर काम भइरहेको र यसमा कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला बारका अध्यक्ष विचारसिंह दोङले उमेर नपुगी विवाह गरेर जन्माएको बच्चाको नागरिकता प्राप्तिमा समस्या देखिएकोले त्यसलाई सहज बनाउनु पर्ने सुझाव दिनुभयो ।

बढ्दो सम्बन्ध विच्छेदले सामाजिक विखण्डन सिर्जना गर्न लागेको बताउँदै उहाँले यसलाई रोक्न सचेतनाका कार्यक्रम जरुरी रहेको बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्न कँडेलले ज्येष्ठ नागरिकको अधिकार र खाद्य सुरक्षाको अधिकारका विषयमा थप गम्भीर हुन जरुरी रहेको बताउनुभयो । यी विषयलाई सघन रूपमा उठाउन पर्नेमा कँडेलले जोड दिनुभयो ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले जिल्लामा सन् २०२२ मा इन्सेकले २५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरेको जानकारी दिनुभयो ।

जसमा बलात्कारका १० ओटा, यौनजन्य दुर्व्यवहारका तीन ओटा, जातीय विभेदको एउटा, बोक्सीको आरोपमा हत्या तथा कुटपिटको एउटा र बाँकी राजनीतिक अधिकारसँग जोडिएका घटना भएको उहाँले जानकारी दिनुभयो ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, सरोकारवाला सरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, नागरिक अगुवा, कानुन व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

Insec 2

नवराज पथिक