सन् २०१६ मा एक हजार ३५ जना पीडित भएको तथ्याङक सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा मानव अधिकारको अवस्था र सञ्चारकर्मी एवम् मानव अधिकार रक्षकका सवाल विषयक छलफल कार्यक्रम पुस १९ गते धनकुटामा सम्पन्न गरिएको छ ।

सो अवसरमा सन् २०१६ को अवधिमा पूर्वाञ्चलमा अभिलेखित मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरू इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रलेख अधिकृत देवराज पोख्रेलले सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको तथ्याङ्कमा सन् २०१६ को एक वर्षको अवधिमा पुर्वाञ्चलमा १ हजार १२ ओटा घटना अभिलेख गरिएको र ती घटनामा १ हजार ३५ जना पीडित भएका छन् ।

उक्त घटनामा राज्य पक्षबाट १५ जना पुरुष र तीन जना महिला गरी १८ जना पीडित भएका छन् भने गैरराज्य पक्षबाट १ हजार १७ जना पीडित बनेका छन् । जसमा ९ सय ४५ जना महिला र ७२ जना पुरुष छन् ।

सो अवसरमा बोल्दै इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले अघिल्लो वर्षको तुलनामा मानव अधिकार हनन्का घटनामा सङ्ख्यात्मक हिसाबले केही कमी आएपनि महिलामाथि हुने हिंसामा वृद्धि हुनु र नाबालिकाहरूमाथि बलात्कार हुनु दुःखद रहेको बताए । यसको अन्त्यको लागि सबै सरोकारवाला पक्षहरू एक ठाउँमा उभिन जरुरी रहेको उनले औँल्याए ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीले मानव अधिकारको विषय सर्वव्यापी रहेकाले यसलाई फराकिलो ढङ्गले सोच्न जरुरी रहेको बताए । उनले मानव अधिकारको क्षेत्रभित्र राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रलाई समेट्न सुझाव दिए ।

सन्तोष रुचाल