सन्देशमूलक सूचना बोर्ड स्थापना र बालबालिकाहरूलाई सम्मान

  ०८० फागुन ११ गते

Photo 20240222 Saptari
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश र इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले शम्भुनाथ नगरपालिका–३ स्थित रामदयाल माध्यमिक विद्यालयमा ०८० फागुन १० गते बाल अधिकार सम्बन्धी ऐन तथा संविधानको धारा समेटिएको सन्देशमूलक सूचना बोर्ड स्थापना गरेको छ ।

उक्त अवसरमा इन्सेकद्वारा प्रदर्शित जनचेतना मूलक सडक नाटकमा सहभागी सचेतना समूहका बालबालिकाहरूलाई प्रोत्साहन स्वरुप मेडल लगाएर सम्मानित गरिएको छ । सचेतना समूहका बालबालिकाले कात्तिक २४–२५ गते बालविवाह, महिला हिंसा विरुद्ध सडक नाटक गरी समुदायलाई ध्यानाकर्षण गराएका थिए । इन्सेकका जिल्ला सहजकर्ता अजय परियारको समन्वयमा समूहको वैठकले बाल अधिकार सम्बन्धी कार्ययोजना समेत बनाएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै प्रधानाध्यापक उमेश कुमार भगतले भोलिको कर्णधार रहेका बालबालिकाहरूलाई अधिकारसँगै कर्तव्यका बारे चेतना भएमा मात्र बाल अधिकार व्यवहारमा देखिने बताउनु भयो । शिक्षकले राम्रो जनशक्ति उत्पादन गर्न कोसिस गरिरहेकै हुन्छ भन्नु हँदै उहाँले विद्यालय भन्दा परिवारसँग बढी समय बिताउने बालबालिकाको लागि अभिभावकको भुमिका बढी महत्वपूर्ण हुने बताउनु भयो ।

मानव अधिकार समुहकी मधेश प्रदेश अध्यक्ष देबीमाया भट्टराईले अधिकारबाट बञ्चित बालबालिकाहरूको हक, हितको लागि मानव अधिकार समूहबाट पहल भइरहेको जानकारी दिनु भयो । बाल अधिकार, स्वस्थ्य वातावरण सम्बन्धी नीति बमोजिम नगरपालिकालाई बालविवाह मुक्त र दाइजो प्रथा मुक्त बनाउने अभियानको तयारी सुरु गरिएको उहाँले बताउनु भयो ।

विद्यालयमा बाल मैत्री वातावरण रहेको भन्नु हुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीले आन्तरिक क्षमता र मनोबल बढाउने गरी विद्यार्थीलाई अवसर र सम्मान दिने इन्सेकलाई धन्यवाद दिनु भयो ।
Photo 20240222 Saptari 3 Photo 20240222 Saptari 2 Photo 20240222 Saptari 1

मनोहरकुमार पोखरेल