शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

  ०७३ असार २३ गते

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा र मानव अधिकार निगरानी समूह कास्कीको संयुक्त आयोजनामा पोखरामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा सहभागिहरूले राज्यको तहबाट नागरिकका मौलिक अधिकार तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

 

कार्यक्रममा पर्वत, तनहुँ, कास्कीबाट सहभागि हुन आएका मानव अधिकार निगरानी समूहका सदस्यहरू, कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायतले स्थानीय निकायबाट प्रभावकारी सेवा दिन नसकेको, ग्रामीण स्तरका विद्यालयमा बालमैत्री शिक्षाको वातावरण नभएको,प्राथमिक शिक्षा निशुल्क भनिएता पनि विभिन्न वहानामा शुल्क लिने गरिएको, स्वास्थ्य चौकीबाट प्रभावकारी सेवा उपल्ब्ध हुन नसकेको, गाविस स्तरमा कुषि प्राविधिकहरूको व्यवस्था नहुँदा सेवाग्राही मर्कामा परेको बताउँदै अनुगमनका लागि सरकारी निकायको ध्यनाकर्षण गराएका थिए ।

 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले जिल्ला प्रशासन कार्यलयको बजार अनुगमन समितिले निरन्तर अनुगमन गरेको जानकारी गराउँदै मुल्य बृद्धि र खाद्यान्नमा मिसावट गरिएको पाइएमा तत्काल कारबाही गरिने बताए ।

 

जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले कामको चाप अनुसार प्राविधिक र जनशक्ति नभएका कारण ग्रामीण स्तरमा सेवा प्रभावकारी रूपमा दिन नसकिएको बताए । कास्कीमा विषादी प्रयोगमा गत वर्षको तुलनामा कमी आएको जानकारी गराउँदै उनले कृषि विकास कार्यलयले प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिता दिइरहको बताए ।