शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति प्रतिबद्ध छौः जनप्रतिनिधि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रम अन्तर्गत सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम पुस २० गते घोराहीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका साथै उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

Photo20180104Dang (1)

सो अवसरमा मानव अधिकार निगरानी समूहले जनप्रतिनिधिसमक्ष राखेका मागलाई उनीहरूले क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको कुरा मानिसका आधारभूत आवश्यकता भन्दै घोराही उपमहानगरका १९ ओटै वडामा शहरी स्वास्थ्य क्लिनिक स्थापना गर्ने प्रतिबद्धता जनाए ।

गरिबीकै कारण स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपर्ने भन्दै उनले नगरका सबै वडामा आवश्यक भौतिक संरचनासहितको स्वास्थ्य सेवा सञ्चालन गर्न नगर कार्यपालिकाले निर्णय गरी बजेटसमेत विनियोजन गरेको बताए ।

Photo20180104Dang (2)

थोरै विद्यार्थी हुने ठाउँमा पनि जबरजस्ती विद्यालयको स्तरबृद्धि गरिँदा अभिभावकबाट शुल्क लिने काम भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चौधरीले तह बृद्धि भन्दा पनि गुणस्तर बृद्धि गर्ने गरी काम अगाडि बढाइने प्रतिबद्धता जनाए ।

उनले सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिन नपाइने भन्दै त्यसका लागि अनुगमन गरिने बताए । साथै उनले खान लाउनका लागि मात्रै खेती गर्ने प्रवृत्तिलाई अन्त्य गरी आधुनिक प्रविधिसहित कृषिलाई व्यवसायिकीकरण गर्न कृषि यन्त्र खरिदका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको बताए ।

मानव अधिकार निगरानी समूहको तर्फबाट जनप्रतिनिधिहरूलाई माटो परीक्षण, जैविक विषादी निर्माण तथा प्रयोग, निशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयन, आधुनिक कृषि औजार तथा प्रविधिको माग गरिएको थियो ।

सो अवसरमा बोल्दै वडा अध्यक्षहरूले नियमित कार्यक्रमबाट कृषि प्रवर्धन, स्वास्थ्य सेवा तथा शिविर सञ्चालनलगायतका जनताका मागअनुसार कार्यक्रम र विकास गरिने प्रतिबद्धता जनाए ।

जे.एन.सागर