शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

  ०७३ चैत २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालका बारेमा सेवा प्रदायक र सेवाग्राहीबिच चैत २९ गते जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ ।

कार्यक्रममा मानव अधिकार निगरानी समूह बोचका संयोजक नारायण बस्नेतले कृषि तथा पशुसेवा कार्यालयमार्फत वितरण हुने अनुदान सहयोग गाउँका टाठाबाठा र पहुँचवालाले मात्रै प्रयोग गरिरहेको गुनासो गरे । गाई गोठ नहुनेले गोठ सुधारको अनुदान र तरकारी खेती नगर्नेले प्लाष्टिक टनेल लिने र विक्री गर्ने गरेको उनले बताए ।

त्यसैगरी कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका डाक्टर रामचन्द्र सापकोटाले दोलखा पशु पालनका लागि उपयुक्त जिल्ला भएको तर व्यवसायिक पशुपालनका लागि सरकारी सेवा सुविधा हुँदाहुँदै पनि किसानहरू निर्वाहमूखी पशुपालन गर्दै आएकोमा दुःख व्यक्त गरे ।

सरकारी अनुदान वास्तविक किसानका लागि नै लगानी गर्दै आएको र सेवा केन्द्रको सिफारिस र जिल्ला स्तरको अनुगमन पश्चात अनुदान सेवा प्रवाह गरिने भएकोले कोही गैर किसानले सुविधा पाएको भए कानुनी दायरामा ल्याउने उनले बताए ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत मनोहर कडरियाले आफ्नो कार्यालयको सबै कार्यक्रम विपन्नमुखी, महिला केन्द्रित, वास्तविक किसानलाई सेवा गर्ने भएकोले विगतमा कमजोरी रहेको भएता पनि आगामी दिनमा सुधार गरिने प्रतिबद्धता जनाए । दोलखा जिल्ला पशुपालन, तरकारी खेतीमा उपयुक्त भएकोले पकेट क्षेत्र निर्धारण गरी हावापनी, माटो सुहाउँदो कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

कार्यक्रमका सहभागीहरूले समयमा सेवा पाउन नसकेको, प्राविधिक शुल्क तिर्नु परेको, आधुनिक खेती प्रणालीको बारेमा प्रचारप्रसार कार्यक्रम नभएको बताएका थिए ।

उद्धव पोखरेल