शिक्षा, स्वास्थ्य र खाद्य अधिकार बारे सिक्दै जनप्रतिनिधि

घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिहरूलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलगायत समग्र मानव अधिकारका विषयमा साउन २४ गतेदेखि अभिमुखीकरण सुरू गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. ३, ४, ६ र ७ का जनप्रतिनिधिहरूलाई नागरिक अधिकारका विषयमा सुसूचित गर्न अभिमुखीकरण गरिएको हो ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम सञ्चालन भइरहेका वडाहरूका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गरिएको इन्सेक प्रदेश ५ कार्यालय नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले जानकारी दिइन् ।

दुई दिनसम्म चल्ने अभिमुखीकरणमा इन्सेक अभियान र मानव अधिकार अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, वडा तहमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या, समाधानका उपाय, नेपालको संविधान र मौलिक हकका विषयमा अभिमुखीकरण गरिनेछ ।

अभिमुखीकरणको सहजीकरण अधिकर्मीहरू विकिरण गौतम, केशवकुमार शर्मा, विनोद केसी, जिल्ला न्यायाधीश हेमन्त रावलले गरिरहेका छन् । अभिमुखीकरणमा वडा अध्यक्ष, सदस्य, कर्मचारी र मानव अधिकार निगरानी समूहका सदस्यहरू सहभागी छन् ।

photo20180809dang (1)photo20180809dang (2)photo20180809dang (3)

जेएन सागर