शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजना तथा मानव अधिकार समूहको समन्वयमा कावासोती नगरपालिकामा चैत १८ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्सेक नवलपरासी पूर्वका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले इन्सेकले कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी आयोजना गरेको विभिन्न कार्यक्रम, त्यहाँ उठेका सवालहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले निःशुल्क शिक्षा कार्यान्वयन, स्वास्थ्य संस्थामा निःशुल्क औषधिको उपलब्धता, नियमित बजार अनुगमन तथा खाद्य उपलब्धता र भूमिहिन सुकुम्बासी तथा सामान्तकृत समुदायमा आवासको सवालहरू, विभिन्न स्थानमा आयोजना भएको कार्यक्रममा सवालको रूपमा पहिचान भएको बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरूङले कावासोती नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा गरिरहेको कार्यहरूको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क पुस्तक वितरणको लागि आवश्यक बजेट विनियोजन भएको, नगर पाठ्याक्रमको अन्तिम चरणमा पुगेको, विद्यालयहरूको मुल्याङ्कन कार्यविधि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
उहाँले नगरपालिकाबाट यस वर्ष १० लाख रूपिया बढीको औषधि खरिद गरी निःशुल्क वितरणकोलागि स्वास्थ्य चौकीहरूलाई उपलब्ध गराएको बताउनुभयो ।
बहुक्षेत्रिय पोषण कार्यक्रम सहित स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन भएको उहाँले बताउनुभयो ।
कृषि तथा पशुजन्य उत्पादन बृद्धि र सबै नागरिकलाई पौष्टिक खाद्यन्नको उपलब्धताको लागि नगरपालिका प्रतिबद्ध रहेको बताउदै उहाँले नगरपालिकामा पशु र कृषि शाखा मार्फत भएको विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
विगतमा सुकुम्बासी समस्या सामाधान आयोग विघटन पश्चात रोकिएको भूमिसम्बन्धी समस्या सामाधानको लागि नगरपालिकाले आवश्यक कार्यहरू गरिरहेको उहाँले बताउनुभयो । कावासोती नगरपालिका–३ मा विगतमा नै जग्गा नाप जाँचको काम भइसकेको भन्दै अब तत्काल पुर्जा वितरणको लागि आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो ।
जनता आवास कार्यक्रम, तराई मधेष कार्यक्रम लगायतका कार्यक्रम मार्फत नगरपालिकामा करिब २ सय परिवारलाई घर नै निर्माण गरी नगरपालिकाले हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
खरको छानो बिस्थापन कार्यक्रम समेत सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङको प्रस्तुति पश्चात सहभागीहरू पत्रकार रामकुमार श्रेष्ठ, विद्यार्थी प्रशान्तचापागाईंले संविधानमा निःशुल्क गरिएको शिक्षामा विभिन्न बहाना बनाएर भइरहेको शुल्क सङकलन रोक्न नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउन जिज्ञासा सहित सुझाव दिनुभएको थियो ।
उपभोक्ता हक हित संरक्षण मञ्च कावासोतीका अध्यक्ष डोरमान गिरीले नियमित रूपमा हुनुपर्ने बजार अनुगमन नहुदाँ उपभोक्ताहरू मारमा परेको बताउनुभयो ।
खाद्यको कारण मानिसमा धेरै रोग लाग्ने भन्दै खाद्यन्नको गुणस्तर र नियमित बजार अनुगमन गर्न उहाँले आग्रह गर्नुभयो ।
सहभागी गोविन्द नेपालीले सिमान्तकृत समुदाय अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूलाई शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा स्थानीय सरकारले ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उठेका सवालहरूको जवाफदिदै प्रमुख प्रशासकीय अधिकृत गुरूङले सबै खाले समस्या समाधानको लागि नगरपालिका प्रतिबद्ध रहेको भन्दै त्यसको लागि सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा शिक्षा अधिकृत राजन पाण्डेले विद्यार्थीहरूले कुनकुन शीर्षकमा शुल्क तिरिरहेका छन् भन्ने अध्ययनको आधारमा नै अंग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक खरिदमा नै शुल्क भुक्तानी गरिरहेको कारण उनीहरूलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराएको बताउनुभयो ।
यस आर्थिक वर्षमा अंग्रेजी माध्यममा पठ्ने विद्यार्थीहरूको लागि पाठ्यपुस्तक खरिदको लागिमात्रै १ करोड भन्दा बढी बजेट खर्च भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठेको भन्दै स्थानीय सरकारले यस तर्फ ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभएको थियो ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले कार्यक्रममा उठेका सवालहरूको समाधानमा नगरपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।
स्वास्थ्य बिमा कार्यक्रमको बारेमा उठेका सवालहरूको बारेमा आफूले जिल्ला अस्पतालमा समेत जानकारी गराउने उहाँले बताउनुभएको थियो ।
कावासोती नगरपालिका–२ का वडा अध्यक्ष लक्ष्मी पौडेलले स्थानीय सरकारको गठन पश्चात पाँच वर्षको अवधिमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै परिवर्तन भएको भन्दै अझै सुधार गर्नुपर्ने पक्षहरूलाई सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि कावासोती नगर प्रमुख चन्द्रकुमारी पुनले कार्यक्रम उद्घाटन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
मानव अधिकार समूह कावासोतीका सदस्य भुपति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला सहजकर्ता गंगा विश्वकर्माले गर्नुभएको थियो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…