शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २१ गते भानु नगरपालिकामा स्थानिय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेलले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्रथामिकताका साथ राखेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
यी विषय मौलिक हक मात्र नभएर नागरिकका आधारभुत अधिकार पनि भएको हुँदा भानु नगरपालिकाले पनि यसलाई उच्च प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।
दुई दिन अघि मात्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी सम्हालेका पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा के कस्ता कामहरु भएको छ भन्ने बारेमा आफुले सम्बन्धित शाखा प्रमुखसँग बुझेर थप कार्यक्रमहरु सम्भव भए यसै आर्थिक वर्षमा र नभए आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले विपन्न एकल महिला, अपाङ्गता भएका, अशक्त र असहायलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने, प्राकृतिक प्रकोपको कारण क्षति भएकाहरुलाई राहत उपलब्ध गराउने, बैकल्पिक विधिको शिक्षणलाई प्राथमिकता दिने तथा स्वास्थ्य चौकीमा औषधिको पर्याप्तताको ग्यारेन्टीको विषयलाई तत्काल सम्बोधन गर्ने बताउनुभयो ।
नगरपालिकाले कार्यान्वयन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम तथा योजनाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले मानव अधिकार समूहको पटक पटकको ध्यानाकर्षणपछि आफूले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा उल्लेख्य कार्यक्रमहरु समावेश गरेको बताउनु भयो ।
जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्धता, प्राकृतिक प्रकोप पीडितलाई राहत, बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन, स्वास्थ्य र सरसफाइलाई उच्च प्राथमिकता, आधारभुत खानेपानीको उपलब्धता, व्यक्तिगत तथा सामुहिक सरसफाइको विशेष नीति, नमुना बाख्रा पालन, भैसी पालन तथा च्याउ खेतीलाई जोड, बिउबिजन तथा अनुदान वितरण प्रक्रियालाई आधुनिकिरण तथा उत्पादनलाई निर्वाहमुखी भन्दा बजारमुखी बनाउने नीतिहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर कार्यपालिकाका सदस्य देवबहादुर भुजेलले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी विषय कुनै एक संस्थाले दवाव दिनुपर्ने विषय भन्दा पनि नगरपालिका आफैले यसलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
आफु पहिलो पटक यस विषयसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाएकोले यस भन्दा अघिको घटनाक्रमको बारेमा खासै जानकारी नभएपनि अब यस विषयलाई प्राथमिकतामा राखेर काम गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले जनताको आवश्कयता र चाहाना अनुसार स्थानिय तहले नीति तथा योजनाहरु बनाउनुपर्ने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषय निकै महत्वपुर्ण र नागरिकको नैसर्गिक अधिकारको विषय भएको हुँदा इन्सेकले जिल्ला स्तरबाट नै यसलाई घच्घच्याउँदै आएको उहाँले बताउनुभयो ।
मानव अधिकार समूहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र विषय वस्तुहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…