शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७८ असोज २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह शुभकालिकाको समन्वयमा शुभकालिका गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शुभकालिका गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले गाउँपालिकाका नागरिकहरूको आधारभूत अधिकारको रूपमा रहेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासका क्षेत्रमा आएका समस्याहरूको समाधान गर्न स्थानीय सकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले गाउँपालिकाभित्र कसैले भोकै बस्नु पर्ने र कसैले पनि घरविहिन हुन पर्ने अवस्था आफ्नो कार्यकालमा नहुने बताउनु भयो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमा देखिएका समस्या र समाधानमा स्थनीय सरकारको भूमिकाका विषमा बताउनुभयो ।

उहाँले गाउँपालिकामा स्वास्थ्य शाखाले हालसम्म औषधि खरिद गर्न नसकिएकोले नागरिकहरूलाई पर्न गएको मर्काप्रति दुःख व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा, स्वास्थ्य, कृषि शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, कृषकलगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज आचार्यले कोभिड–१९ को निहुमा विद्यालयमा शिक्षक उपस्थित नहुने,विद्यालयमा कम्प्युटर वितरण गरिएपनि दक्ष जनशक्ति र कम्युटर सञ्चालन गर्न विद्युतको अभाव, भौतिक संरचनाको अभाव लगायतका समस्याहरू रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा मानव अधिकार समूहका संयोजक पर्शुराम गाउँलेले गतवर्ष मानव अधिकार समूहले खरमुक्त घर बनाउने मागसहित ज्ञापनपत्र बुझाएपछि ९३ घरलाई टिनको पाता खरिद गर्न रकम दिएपनि अझै घर नभएकाहरू समस्या रहेकाले गाउँपालिकाको ध्यान जानुपर्ने बताउनु भयो ।

जनता मावि छातिका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले विद्यालयमा स्वास्थ्य सामग्री, शैक्षिक सामग्री भौतिक संरचनालगायतका समस्याहरू रहेको बताउनु भयो ।

photo20211008 Kalikot 1     photo20211008 Kalikot 2

कालीबहादुर मल्ल