शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम सम्पन्न

  ०७८ असोज १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम असोज १३ गते चरिकोटमा सम्पन्न भएको छ ।

photodolakha22207680612 मानव अधिकार प्रवर्धन र संरक्षणका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले भीमेश्वर नगरपालिका स्तरीय मानव अधिकार समूहले सेवा प्रदायक निकाय र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले जनताको खाद्य अधिकार सुनिस्चितताको लागि कृषिका लागि पकेट क्षेत्र पहिचान गरी भौगोलिक अवस्थाको पहिचानका आधारमा कृषकलाई अनुदान सहितको व्यावसायिक खेति प्रणालीमा अनुदानको व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले दरबन्दी अनुसार कर्मचारी नहुँदा कृषिमा आवश्यक प्राविधिक सहयोग पुग्न नसकेको भए पनि बजार अनुगमनमा तदारुकता दिइएको बताउनु भयो ।

उपप्रमुख बस्नेतले सरकारले तोके अनुसार निशुल्क औषधीका व्यवस्थापन भइरहेको र भौगोलिक विकटता भएका स्थानमा थप स्वास्थ्य सेवालाई बिस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. ३ का दावा लामाले संस्थागत विद्यालयमा कक्षाकोठा साना हुने र धेरै विद्यार्थी हुँदा कोभिड महामारी विरुद्ध सरकारले लागु गरेको स्वास्थ्यको मापदण्ड कायम हुन नसकेको, सुद्ध खानेपानीको अभाव हुँदा विद्यार्थी बिरामीमा स्वास्थ्य समस्या आउने गरेकोले सम्बन्धित पक्षलाई तत्काल अनुगमन गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा सहभागी उषा थापाले कृषि प्राविधिक बिनाको अनुदान रकम खेर जाने र कृषकहरु निरुतासाहित हुने भएकोले कृषि प्राविधिकको तत्काल व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले कोभिड–१९ महामारी विरुद्धको खोपमा अनियमितता गरी नियम मिचेर आफन्तलाई लगाईएको गुनासो गर्नुभयो । photodolakha12207680612

कार्यक्रममा भीमेश्वर नगर शिक्षा शाखा प्रमुख रामचन्द्र पौडेलले तत्काल संस्थागत र सामुदायिक विद्यालयको अनुगमन गरी स्वास्थ्य मापदण्ड अपनाउन र सुद्ध पिउने पानीको व्यवस्था गरिने बताउनु भयो ।

स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बजार हल्ला भएजस्तो खोपमा कुनै अनियमितता नभएको र सरकारले दिएको निर्देशन अनुसार नै काम भएको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार समूहका संयोजक जानुका न्यौपानेले कार्यक्रममा उठाइएका समस्याको समाधानको लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भयो ।

उद्धव पोखरेल