शिक्षा क्षेत्रको सुधारका लागि सबैजनाको सहयोग आवश्यकः क्षेत्री

जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले शिक्षा क्षेत्रमा हुने कमी कमजोरी सुधारका लागि सबैजनाको सहयोग अपरिहार्य भएको बताएका छन् ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत इन्सेक कार्यालय, पोखराले असार १२ गते पोखरामा आयोजना गरेको शिक्षाको अधिकारसम्बन्धी राज्यको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था विषयक अर्न्तक्रिया कार्यक्रममा क्षत्रीले सो कुरा बताएका हुन् ।

Photo20180626Kaski

शिक्षा क्षेत्र सँग सम्बन्धित २३ ओटा अधिकार स्थानीय तहमा रहेको बताउँदै क्षेत्रीले शिक्षा र स्वास्थ्य अत्यन्तै सम्वेदनशील क्षेत्र भएकाले आवश्यक सुधारका काम तत्कालै गर्नुपर्ने भनाई राखे ।

प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले अहिलेको समयमा शिक्षामा व्यवसायिकता आवश्यक रहेको बताउँदै व्यापारीकरण र व्यवसायीकरण बीच रहेको भिन्नता बुझ्नुपर्ने बताए ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीका पुर्व संयोजक ढाकाराम पौडेलले भूगोल र जनचाहना अनुरूपको शिक्षा नीति नभएको भनाई राखे । अनेरास्ववियु कास्कीका रोशन भट्टराईले स्थानीय तहलाई शिक्षाको अधिकार दिनु गलत भएको तर्क प्रस्तुत गरे ।

Photo20180626Kaski1

डिडा नेपालका पूर्व अध्यक्ष गिरधारी सुवेदीले अपाङ्गता भएका विद्यार्थीले पाउने सुविधा लक्षित समूहले पुर्ण रूपमा पाउन नसकेको गुनासो राखे । मानव अधिकार निगरानी समूहकी पूर्व संयोजक दुर्गा केसीले सीपमुलक शिक्षा आजको आवश्यकता रहेको बताइन् ।

अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरुङले शिक्षा क्षेत्रमा परिवर्तन गर्ने उद्धेश्यले अन्नपुर्ण गाउँपालिकामा शिक्षकलाई सम्मान गरौँ, विद्यार्थीलार्इ माया गरौँ भन्ने नारासहित कामकाज सुरू गरिएको जानकारी दिइन् ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य भानु ढकालले शिक्षा क्षेत्रमा गुणस्तरभन्दा पनि भवन निर्माणलाई प्राथमिकता दिइएको बताउँदै सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यममा अध्यापन गराउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा अन्नपुर्ण गाउँपालिका कास्कीका शिक्षा अधिकृत बलराम भुगाईले सङ्घीयतामा शिक्षासम्बन्धी संवैधानिक तथा नीतिगत व्यवस्था र विद्यालय शिक्षाका समसामयिक समस्याहरू विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

इन्सेक पोखरा कार्यालय