शिक्षा अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक सम्बाद सम्पन्न

  ०७८ भदौ १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा  मानव अधिकार समुहको समन्वयमा शिक्षा अधिकारको अवस्था र सरोकारवालाको भुमिका बिषयक सम्बाद कार्यक्रम भदौ १८ गते पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ ।

दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णाकुमारी गुरुङ्गले नगरपालिकाको शिक्षा शाखाले विद्यालयलाई सञ्चालन गर्ने अनुमती दिनु पर्ने बताउँदै शिक्षा शाखाले विद्यालयहरुलाई बेवास्ता गरेको गुनासो गर्नु भयो ।

आफू विद्यालयको अध्यक्ष भएको आठ वर्ष भइसक्दा समेत एक दिन पनि शिक्षा शाखाले समन्वय नगरेको उहाँले आरोप लगाउनु भयो ।

नमूना आधारभूत विद्यालयका अध्यक्ष कोपिला ओलीले विद्यालय सञ्चालन नहँुदा विद्यालय जाने उमेरका बालबालिकाहरु रोजगारीका लागि भारत गइरहेका र विभिन्न दुर्वेसनिमा फसेकाले सरोकारवालाको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद चन्दले सरकारले वितरण गर्ने भनेको सियूजी सिमका लागि विद्यार्र्थीहरुलाई फाराम भर्न आवाह्न  गरिएको भए पनि ७ सय विद्यार्थी अध्ययनरत दुर्गा माध्यमिक विद्यालयका ६७ जनाले मात्रै आबेदन फारम भरेको बताउनु भयो ।

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनारायण कडेलले मोबाइलको नेटवर्क समेत नआउने पुनर्वास नगरपालिकाका ग्रामिण क्षेत्रमा अनलाइन कक्षा प्रभावकारी हुन नसक्ने भएकोले सुरक्षाका मापदण्डको पूर्ण पालना गरी भौतिक रुपमै कक्षा सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार समुहका सदस्य रुपेश खरेलले राजनीतिक दलका कार्यक्रम गर्दा, जुलुस गर्दा, बजार सञ्चालन गर्दा, सार्वजनिक सवारी चलाउँदा, भिडभाड हुने मालपोत कार्यालय, नगरपालिका जस्ता कार्यालय सञ्चालन गर्दा, विभिन्न प्रकारका मेलापर्बहरु मनाउँदा कोभिड नसर्ने तर विद्यालय सञ्चालन गर्दा कोभिड सङ्क्रमणको जोखिम बढ्छ भन्नु तर्कसङ्गत नभएको बताउनु भयो । उहाँले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर विद्यालयहरु सञ्चालन गर्नु पर्ने धारणा राख्नु भयो ।

पुनर्वास नगरपालिका शिक्षा शाखा प्रमुख भक्तबहादुर रोकायाले कोभिड महामारीका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा बैकल्पिक विधीमार्फत शिक्षण शिकाइलाई निरन्तरता दिन सियूजी सिम वितरण गरिरहेकोले भर्जुओल माध्यमबाट पठनपाठन सुचारु गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार समुहका संयोजक पर्शुराम विश्वकर्माले कोभिड महामारी सुरु भएपछि विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा बन्द भएपछि बालबालिकाहरुको भविष्य अन्यौलमा परेकोले यसतर्फ सरोकारवालाहरुको ध्यान जान आवश्यक भएको बताउनु भयो ।

photo20210904kanchanpur

photo20210904kanchanpur2

लिली कुँवर