शिक्षाको अधिकार सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

  ०७८ असोज ८ गते

इन्सेक सल्यानको आयोजनामा कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा असोज ७ गते शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी दुर्गा विसीले प्रभाकर माविमा हालसम्म कोभिड आइसोलेशन कायमै रहेकाले तत्काल अन्यत्र व्यवस्थापन गरिनु पर्ने बताउनुभयो ।

दुर्गममा रहेका विद्यालयहरूमा सेनेटरी प्याडको अभाव रहेकाले नगरपालिकाले प्याड खरिद गर्नु भन्दा पनि विद्यालयलाई नै जिम्मा दिनु पर्ने भनाइ राख्नुभयो ।

photo20210924salyan 1

यस्तै शिव वलीले विद्यालयमा शिक्षक विद्यार्थी पोषाक अनिवार्य लागु गरिनु पर्ने बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक विद्यार्थी आचार संहिता निर्माण गर्नु पर्ने र नगरपालिकाको शिक्षा समिति सक्रिय हुनुपर्ने बताउनु भयो ।

बनगाड कुपिण्डे नगरपालिका–१ का अध्यक्ष शान्तबहादुर यरीले विद्यालयमा सञ्चालन गरिएका आइसोलेशनको व्यवस्थापन गर्ने लगायतका शिक्षा क्षेत्रका सवालमा समाधान गर्ने  प्रतिवद्धता व्यक्त गर्नु भयो ।

स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार नीकायलाई जवाफदेहि बनाउने इएलपी परियोजना अन्तर्गत आयोजित कार्यक्रमको अध्यक्षता मानव अधिकार समूहका संयोजक तिलक नेपालीले गर्नुभएको थियो भने इन्सेक जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले शिक्षाको अधिकार सम्वन्धी अवधारणा र राज्यको दायित्वको विषयमा जानकारी गराउनु भएको थियो ।

photo20210924salyan 2

मिना बुढाथोकी