शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ असोज १७ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजना तथा मानव अधिकार समूह वीरेन्द्रनगरको समन्वयमा ०७८ असोज १५ गते जनसेवा मावि घुस्रामा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागिहरूले जनसेवा मावि घुस्रामा संचालित विद्यालय स्वास्थ्य सेवा प्रभावहिन भएको गुनासो गरेका छन् ।

कार्यक्रममा जनसेवा माविमा कार्यरत स्टाफ नर्स समिना भारतीले विद्यालयमा हाल कुनैपनि औषधि नरहेको र औषधि उपलब्ध गराउने विषयमा वीरेन्द्रनगर नपामा जाँदा विद्यालयलाई देखाउने र विद्यालयले नगरपालिकालाई देखाउने गर्दा समस्या समाधान नभएको बताउनु भयो ।

शुरुमा सामान्य उपचारको औषधि उपलब्ध गराइएपनि ६ महिना यता कुनै औषधि नदिइएको र विद्यार्थीले समयमै उपचार नपाउदा विद्यार्थीको गुनासो सुनेर मात्र बस्नु परेको भारतीले जानकारी दिनु भयो । कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरूले समयानुकल तालिम नपाएको गुनासो गरेका थिए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर बस्नेत र प्रद्यानाध्यापक भक्तबहादुर शाहीले दरबन्दी अनुसार शिक्षकहरूको पदपुर्ति हुन नसक्दा विद्यार्थीबाट शुल्क उठाउन बाध्य हुनु परेको बताउनु भयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले कक्ष ६ देखि माथि कम्प्यूटर विषय राखिएपनि विद्यालयमा कम्प्यूटर र विज्ञान प्रयोगशाला नभएको र शौचालय सफा तथा व्यवस्थित नभएको गुनासो गरेका थिए ।

वीरेन्द्रनगर नपा नगर शिक्षा शाखा प्रमुख ललितविक्रम सिंले कार्यक्रममा उठाइएका शैक्षिक समस्यालाई नीतिगत रुपमा समाधान गर्नुपर्नेमा सम्बन्धित निकायमा जानकारी गराउने र नगर शिक्षा शाखाले समाधान गर्ने समस्याका हकमा आफुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विव्यसका सदस्य, शिक्षक अभिभावक संघ, अभिभावक, मानव अधिकार समूहका सदस्य, शिक्षकशिक्षिका, बाल अधिकार चेतना समूहका सदस्य र विद्यार्थीको सहभागिता रहेको थियो ।
यस्तै असोज १४ गते लेकवेसी नपा–९ स्थित खांडदेवी मावि चौरासेमा शिक्षाको अधिकार विषयक सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा लेकवेसी नपाको शिक्षा शाखाले उपलब्ध गराउनुपर्ने निशुल्क सेनेटरी प्याड हालसम्म उपलब्ध नगराइएको सो माविका प्रद्यानाध्यापक जंगबहादुर दर्लामीले बताउनु भयो ।

सेनेटरी प्याड उपलब्ध गराउन विद्यालय व्यवस्थापन समितिको पटक पटकको बैठकले निर्णय गरी नगर शिक्षा शाखामा माग गरेको तथा प्रद्यानाध्यापकहरूको नियमित बैठकमा समेत आफूले पटक पटक जानकारी गराउदा सेनेटरी प्याड उपलब्ध गराउनेतर्फ चासो नदिइएको प्रअ दर्लामीले जानकारी दिनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत