शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ माघ २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजना तथा मानव अधिकार समूह हेटौँडाको संयोजनामा ०७८ माघ २८ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत हेटौंँडामा शिक्षाको अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शैक्षिक क्षेत्रको सुधारमा अझै थुप्रै काम गर्नु जरुरी रहेको बताउनुभयो ।

Photo1makawanpur20220112 हाँले अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रमा सबैभन्दा धेरै समस्या रहेको बताउनु हुँदै यसमा क्रमिक सुधार समेत हुँदै गएको बताउनुभयो ।

मेयर महतले कोभिड–१९ का कारण शिक्षण संस्थाहरूमा पुरै शैक्षिक सत्र शिक्षक विद्यार्थीहरूको भौतिक उपस्थितिमा हुन नसके पनि भर्चुअल माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउनको लागि पालिकाले सहजिकरण गरेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमा सहभागी शिक्षक, अविभावक, विद्यार्थीलगायत सरोकारवालाले शिक्षाको अधिकारमा सबैको पहुँच हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अमर माविका प्रधानअध्यापक मालती उप्रेतीले विद्यार्थीलाई विद्यालयमा प्राप्त हुने सबै सुविधा प्राप्त हुँदा पनि कतिपय अवस्थामा पारिवारिक समस्याका कारण अधिकारबाट वञ्चित हुने समस्या रहेको बताउनु भयो ।

मानव अधिकार समूहकी संयोजक तथा कार्यक्रमको सभापतित्व गरिरहनु भएका चन्द्रावति पनेरूले विद्यार्थीहरूलाई विद्यालयको समस्या, गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय सिकाई वातावरणको समस्या, भौतिक सुविधाको समस्यामा लगायतमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

Photomakawanpur20220112

हेटौँडा उपमहानगरपालिकाको २ नं. वडा सदस्य महेश्वरमान श्रेष्ठले कोभिडका कारण सिकाइमा भएको क्षति पुरा गर्न समस्या रहेको समेत धारणा राख्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाँईले छात्रावृति, निशुल्क पाठ्यपुस्तक वितरण विद्यालयले समयमै वितरण गर्नु पर्ने सुझाव दिनु भयो ।

शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, शिक्षा अधिकृत रामचन्द्र खड्का, सिद्धार्थ माविका प्रधानअध्यापक मोहन शर्मा, आधुनिक माविका प्रधानअध्यापक वीरवंश बैठा, नगर शिक्षा समिति सदस्य ईश्वरी रसाईलीलगायत सरोकारवालाको सहभागिता थियो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा