विभिन्न जिल्लामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

  ०७८ असोज २७ गते

इन्सेक कालिकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोट  र मानव अधिकार समूहको सहकार्यमा खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २५ गते सम्पन्न भएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत खाँडाचक्र नपामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा खाँडाचक्र नपाका प्रमुख जसीप्रसाद पाण्डेले नगरपालिका भित्रका विद्यालयहरूमा कोभिडका कारणले अनुगमन हुन नसकेको हुनाले शिक्षाको गुणस्तर खस्किएको बताउनुभयो ।

उहाँले वादी र दलित समुदायमा खाद्यान्नको समस्या भएको, खाँडाचक्र नपा –८ दशलाको दलित वस्ती पहिरोको जोखिमका कारण विस्थापित हुनु परेकोलगायतका समस्याहरूको तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

photo 20211013 Kalikot

कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै खाँडाचक्र नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीले नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमा नपाले हासिल गरेका उपलब्धि, विद्यमान समस्या र समाधानका उपाय तथा पहलको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा, स्वास्थ्य, कृषि शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, कृषकलगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

इन्सेक सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार इन्सेकको आयोजनामा बनगाड कुपिण्डे नगरपालिकामा असोज २३ गते शिक्षा, स्वास्थ, खाद्य र आवासका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगरपालिकाको स्वास्थ्य, शिक्षा, खाद्य र आवासका सवालमा विद्यमान अवस्थाको विषयमा सरोकारवाला निकायले जनप्रतिनिधिसँग सवाल जवाफ गरेका थिए ।

नगरपालिकामा अस्पताल, दक्ष जनशक्ति, कोभिड नियन्त्रणको प्रयास, विद्यालयहरूमा नियमिति पठन पाठन, भौतिक पुर्वाधार, किसानका लागि मल बीऊ विजन, कृषि प्राविधिक जनशक्तिको अभाव, आवास, गुणस्तरीय खाद्य वस्तु, बजार अनुगमन, सडक विस्तार नहुँदा बजारमा परेको असर लगायतका विषयमा छलफल भएको इएलपी परियोजना सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

photo 20211013 Salyan

सरोकारवाला निकायहरूले औंल्याएका मुख्य कुराहरूमा नगर प्रमुख गोविन्दकुमार पुन, उप–प्रमुख मञ्जु यरी, प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीले जबाफ दिनु भएको थियो ।

कार्यक्रममा शिक्षक, अविभावक, व्यापारी, मानव अधिकार समूहका सदस्यहरू, विद्यार्थी, व्यापारी, उपभोक्ता, जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

इन्सेक जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजना र मानव अधिकार समूह छेडागाडको समन्वयमा छेडागाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २२ गते सम्पन्न भएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत छेडागाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले नगरपालिकाका नागरिकहरूको आधारभूत अधिकारको रूपमा रहेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासका क्षेत्रमा आएका समस्याहरूको समाधान गर्न स्थानीय सकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पछिल्लो समय स्वास्थ्यका क्षेत्रमा नगरपालिकाले छलाङ मारेको भन्दै उहाँले नगरपालिकाभित्र ५० शैयाको अस्पताल स्थापना, स्वास्थ्य केन्द बृद्धि गर्नुपर्ने तथा वर्थिङ सेन्टरको स्थापनामा उल्लेख्य वृद्घि भएको बताउनु भयो ।

photo 20211013 Jajarkot

कार्यपत्र प्रस्तुत गर्दै इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमा देखिएका समस्या र समाधानमा स्थानीय सरकारको भूमिकाका विषमा बताउनुभयो ।

कार्यक्रममा नगरपालिकामा बालबालिकालाई खोप लगाउनका लागि स्थापना भएका खोप केन्द्र निकै टाढा रहेको, विद्यार्थीलाई औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त नभएको, भौगोलिक रूपमा छेडागाड नगरपालिकाभित्र खाद्य डिपो थप गर्नुपर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।

यसैबिच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार परिपूर्तिका लागि आफूहरू जिम्मेवारका साथ लागि परेको बताउनु भएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज २५ गते वीरेन्द्रनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक अन्तरक्रियामा बोल्दै नगरप्रमुख सुवेदीले सो कुरा बताउनु भएको हो ।

नगरप्रमुख सुवेदीले नागरिक संघसंस्था तथा मिडियाहरूले स्थानीय तहले गरेका नराम्रा कामहरूको बारेमा सचेत गर्ने मात्र नभएर राम्रा र उदाहरणीय कामहरूको बारेमा जनतासमक्ष पु¥याईदिन आग्रह पनि गर्नु भयो ।

वीरेन्द्रनगर नपाले छोटै समयमा नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारको बारेमा उल्लेखनीय कार्य गरेको चर्चा पनि उहाँले गर्नु भयो ।

मध्यपश्चिम विश्विद्यालयका उपप्रध्यापक कमल लम्सालले वीरेन्द्रनगर नपाको मानव अधिकार र शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

photo 20211013 skt Binapa

कार्यक्रममा भूमि अधिकार मञ्च सुर्खेतका अध्यक्ष राजेन्द्र शर्मा र मानव अधिकार समूह वीरेन्द्रनगरका सदस्य समिना बानु लगायतले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको बारेमा नगरपालिकामा देखिएका समस्याहरू औंल्याउनु भएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत