विभिन्न जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिहरुद्वारा विभिन्न जिल्लामा सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएका समाचारहरू प्राप्त भएका छन् ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले इन्सेकले सङ्कलन गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू संवेदनशील रहेको तथा मानव अधिकार प्रत्याभूत गर्ने सवालमा आफू गम्भीर भएको बताएका थिए ।

प्रजिअ ढकालले राज्यले गरेका प्रतिबद्धता तथा मौलिक हकमा भएको व्यवस्था तथा नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका विषयमा केही दिन भित्रै जिल्लाबासी नागरिकले परिवर्तनको अनुभूति पाउने गरी कार्य गर्नेसमेत बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी भोजजङ्ग शाह, राष्ट्रिय अनुसन्धानका एसपी शरद बन्धु, सशस्त्र प्रहरीका एसपी सुरेशकुमार गुरुङलगायतले जिल्लाको अवस्थाको बारेमा टिप्पणी गर्दै वर्षपुस्तकका लागि सङ्कलन गरिएका घटनाका बारेमा सुझाव दिएका थिए ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार समीक्षा कार्यक्रममा सन् २०१६ मा म्याग्दी जिल्लामा भएका र इन्सेकले अभिलेख गरेका मानव अधिकार हनन् एवम् ज्यादतीका घटनाहरू माथि छलफल गरिएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले म्याग्दी जिल्लामा अपराधिक तथा अन्य हिंसाका घटनाहरू बढ्दै गएको र आम नागरिकको सहयोग विना यस्ता घटनाको निराकरण सम्भव नरहेको बताए ।

उनले इन्सेकले महिला र बालबालिकाका मात्र नभएर सार्वजनिक अपराधका घटनाहरूलाई पनि मानव अधिकार वर्षुस्तकमा समावेश गर्न सुझाव दिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले महिला हिंसा तथा बलात्कारलगायतका विषयमा इन्सेकले तथ्याङ्क सङ्कलनमात्र गर्न भन्दा पनि न्यूनीकरणका लागि प्रयास गर्न सुझाएका थिए ।

नयाँ शक्ति नेपाल म्याग्दीका संयोजक भुपेन्द्र बुढाथोकीले बजार क्षेत्रमा सुरक्षा निकायबाट व्यापारीहरूलाई अनावश्यक रूपमा दबाव दिने काम पछिल्लो समयमा बढ्दै गएको बताउँदै नागरिकको व्यापार व्यवसाय गर्न पाउने अधिकारमाथि राज्यका निकायले अनावश्यक दबाव दिने कार्य बन्द गराउन पनि इन्सेकले पहल गर्नु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर लोकेन्द्र सिंह गुरुले आफूले अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुने तवरले सबैले सोच्नु पर्ने बताए ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार रुपन्देहीमा  महिला अधिकारका १ सय ओटा, बाल अधिकारका २२ ओटा र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी ८ ओटा घटनाहरू गरी जम्मा १ सय ३० ओटा घटनाहरू अभिलेखीकरण गरिएको छ ।

उक्त घटनाका बारेमा समीक्षा गर्न आयोजित कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले इन्सेकले लामो समयदेखि मानव अधिकारको क्षेत्रमा सरकारले गर्न नसकेको काम गर्दै आइरहेको र पीडितलाई न्यायमा पहुँच पुर्‍याउनका लागि इन्सेकको अभिलेखले महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्लामा घटेका गाउँ बस्तीका मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई समेट्न आग्रह गरे ।

उनले मानव अधिकार उल्लङ्घनका घटनाहरूको विवरण सङ्कलनका क्रममा घटना हुनुको कारणलाई समेत विश्लेषण गरी राख्न सुझाव दिए ।

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्धनारायण साहनीले अभिलेखीकरणमा यति धेरै घटना समेटिनु भनेको अत्यन्त्यै महत्वपूर्ण कुरा भएको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगले गर्न नसकेको काम इन्सेकले गरेको भन्दै इन्सेकले अब आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई पनि जोड दिन आग्रह गरे ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले अबको वर्षुस्तकमा आउने घटनाहरूको अहिलेको परिपाटीलाई फराकिलो दायरामा लगेर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयमा ध्यान दिनुपर्ने बताए ।

महिला तथा बालबालिका कार्यालयकी निरीक्षक रोजी गौचनले पछिल्लो समयमा महिलामाथि हुने घटनाहरू बढेको भन्दै महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि भएका कानुनहरूको कार्यान्वयन गर्नपर्ने बताइन् ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार समीक्षा कार्यक्रमका सहभागीहरूले मानव अधिकार र अपराधलाई छुट्टाछुट्टै रूपमा विश्लेषण गर्न जरुरी रहेको बताएका छन ।

उनीहरूले समयको परिवर्तनसँगै अपराध र मानव अधिकार उलङ्घनका घटनाको पनि प्रकृति फरक रहेकोले मानव अधिकारको दायरा फराकिलो पार्न सुझाव दिएका छन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता चन्द्रमणी न्यौपानेले इन्सेकले प्रकाशन गर्ने वर्षपुस्तकले हाम्रो समाजको अवस्था झल्काउने गरेको बताए । नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष बन्धु पोखरेलले मोरङमा धेरै हत्याका घटना हुँदासमेत यसको न्यूनीकरणमा राज्य गम्भीर नभएको आरोप लगाए ।

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले दश वर्षे सशस्त्र द्वन्द्वपछि राज्यबाट हुने गरेका घटनाको सङ्ख्यामा कमी आएपनि गैरराज्यबाट हुने गरेका ज्यादतीका घटनाको सङ्ख्यामा बृद्धि हुनु चिन्ताको विषय भएको बताए ।

कार्यक्रममा मोरङ जिल्ला प्रतिनिधी भट्टराईले मोरङमा २०१६ को जनवरीदेखि  नोभेम्बरसम्मको अवधिमा मानव अधिकार हनन् र ज्यादतीका ९९ ओटा घटना अभिलेख गरिएको जानकारी दिइन् ।

गत वर्ष मोरङमा गैराराज्यपक्षबाट भएको हत्याका घटना चार ओटा अभिलेख गरिएको थियो । तर, यस वर्षगैरराज्यपक्षबाट १२ ओटा हत्याका घटनामा १० पुरुष र ३ महिलासहित १३ जना र राज्यबाट भएको एउटा घटनामा २ पुरुष र १ महिला गरी ३ जनासहित जम्मा १६ जनाको ज्यान गएको अभिलेख गरिएको बताइएको छ ।

त्यसैगरी अभिलेख अनुसार महिलामाथिको हिंसाका ६३ ओटा घटनामा ६३ जना महिला पीडित हुन पुगेका छन् । जसमा घरेलु हिंसाबाट ५०, बलात्कारबाट सात र बलात्कारको प्रयास र यौनजन्य दुर्व्यवहारबाट तीन जना पीडित भएका छन् । त्यसैगरी बहुविवाह र बोक्सीको आरोपमा दुर्व्यवहारका एक एक घटना अभिलेखित छन् । यो अवधिमा बलात्कारका घटनाबाट १६ जना बालिकाहरू पीडित भएका छन् ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीका अनुसार भक्तपुर जिल्लामा घटेका र इन्सेकले अभिलेख गरेको मानव अधिकार हनन् तथा ज्यादतीका २ सय ४१ वटा घटनाह माथि छलफल गरिएको छ ।

इन्सेक भक्तपुरले आयोजना गरेको नेपाल मानव अधिकार वर्षुस्तक-२०१७ का लागि सङ्कलित घटनाको वार्षिक समीक्षा कार्यक्रममा मानव अधिकार उल्लङ्घनका घटना र्सार्वजनिक गर्दै जिल्लामा भएको तथ्याङ्क अभिलेख अनुसार भक्तपुर जिल्लामा यस वर्ष गैरराज्य पक्षबाट ६ जनाको हत्या भएको जनाइएको छ ।

अभिलेख भएका घटना अनुसार बलात्कारका घटनाबाट १२ जना महिला तथा बालिका पीडित भएका छन् भने बलात्कार प्रयास घटनामा ६ जना पीडित भएका छन् ।

त्यसैगरी बहुविवाहका पाँच ओटा, मानव बेचविखन तथा ओसारपसारको एउटा र घरेलु हिंसाका २ सय ९ ओटा घटना अभिलेखित छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जिल्लामा भएका घटना हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको बताउँदै घटना रहित समाज निर्माणमा प्रशासन, प्रहरी र सञ्चारकर्मी तथा नागरिक समाज सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण राणाले शान्त र सुरक्षित भक्तपुर प्रहरीको प्रयास भएको बताउँदै विगतको तुलनामा जिल्लामा अपराधका घटनामा केही कमी हुँदै आएको बताए ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार समीक्षामा सहभागीहरूले मानव अधिकारको संरक्षण र सम्बर्द्धनको लागि समाजका हरेक तहका नागरिक जिम्मेवार हुनु पर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका डिएसपी ऋषिराम कडेलले मानव अधिकार उल्लङ्घनका घटनाहरूमा प्रहरी पनि संवेदनशील रहेको बताए । उनले प्रहरी एक्लैको प्रयासले मात्र मानव अधिकारलाई समाजमा स्थापित गराउन नसक्ने भएकोले मानव अधिकारको क्षेत्रमा क्रियाशील नागरिक, सङ्घसंस्था र सरकारी निकायको समन्वयको खाँचो रहेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले राजनीतिक दलहरूले कानुन कार्यन्वयनको क्रममा हस्तक्षेप नभई प्रहरीलाई सहयोग गर्नु पर्ने बताए ।

राप्रपाका जिल्ला प्रवक्ता रामकृष्ण भट्टले महिला विरुद्ध हिंसा गर्ने र अपराधिक क्रियाकलाप गर्नेहरूलाई पार्टीले संरक्षण नगर्ने र यस्ता कार्यकर्ता भएमा उनीहरूलाई कारबाही गराउन सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा इन्सेक प्रतिनिधि श्रेष्ठले सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्म हत्या, बलत्कार, बलत्कार प्रयास, मानव बेचविखन, बालविवाह, बहुविवाहलगायतका मानव अधिकार हनन् तथा ज्यादतीका २३ ओटा घटनाहरूको बारेमा जानकारी दिएका थिए ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटाका अनुसार समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्षुस्तक नेपालको मानव अधिकार क्षेत्रमा एक ऐतिहासिक दस्तावेज भएकोले यस्तो समीक्षाले उक्त पुस्तकलाई थप परिष्कृत गर्न मद्दत पुर्‍याउने बताए ।

नेपाली काङ्ग्रेस पर्वतका सचिव विश्वप्रसाद प्रसाईंले इन्सेकले गर्ने यस्तो कार्यले सामाजिक रुपान्तरणको अभियानलाई थप सहयोग पुग्ने बताएका थिए । एमाले जिल्ला उपाध्यक्ष भक्त कुँवरले मानव अधिकारको क्षेत्रमा इन्सेकले पुर्‍याएको योगदान साँच्चिकै प्रशंसनीय रहेको बताउँदै वर्षुस्तकले पीडितको आवाजलाई बुलन्द गर्न सक्ने कुरामा आफू विश्वस्त रहेको विचार राखे ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सापकोटाले सन् २०१६ मा बाल अधिकार हनन्का तीन ओटा, महिला हिंसा तथा घरेलु हिंसाका १ सय २६ ओटा, मानव बेचविखनको एक र बलात्कारका पाँच ओटा घटनाहरु अभिलेख गरिएको जानकारी दिए ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार समीक्षा कार्यक्रममा पूर्व मन्त्री गेकर्णराज विष्टले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले सार्वजनिक गरेर समाजमा सकारात्मक दबाव सिर्जना गर्ने काम गरेको बताए ।

उनले नेपाल मानव अधिकार वर्षपुस्तकमा समेटिएका सत्य तथ्य घटनाहरूले नै इन्सेक अहिले यो स्थितिसम्म आउन सफल भएको बताए । मानव अधिकार उल्लङ्घन गर्ने कुनैपनि व्यक्ति वा पक्षलाई कानुनी दायरासम्म ल्याउनुका साथै मानव अधिकार प्रवर्धन र उल्लङ्घन तथा आत्माहत्या न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन विष्टले इन्सेकसँग आग्रह गरे ।

सरकारी वकिल कैलाश केसीले इन्सेकले घटना सङ्कलनको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । साथै जिल्लामा सम्बन्ध विच्छेद गर्ने महिलाको सङ्ख्या बढिरहेकाले सम्बन्ध विच्छेदपछि बालबालिकामा पर्ने असरको अवस्थालाई पनि इन्सेकले कुनै न कुनै कार्यक्रममार्फत समेट्न आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालयका अर्सइ सत्यनारायण यादवले दोषीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन प्रहरी मात्र नभई सबै सरोकारवालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा एक वर्षको अवधिमा सङ्कलन गरिएका बलात्कारका चार, हत्याका तीन, कुटपिटका चार र बहुविवाहका दुई ओटा घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

अनलाइन डेस्क