विकासमा नागरिक समाज र सञ्चारकर्मीबीचको सहकार्य अपरिहार्य

विकासका लागि नागरिक समाज र सञ्चार जगतबिचको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक २८ गते विदुरमा आयोजित कार्यक्रमका सहभागीहरूले नागरिक सङ्घसंस्था र सञ्चार जगतबिचको सहकार्यले समाजमा सकारत्मक सोचको विकास गर्नुको साथै भौतिक तथा मानसिक विकासको लागि भूमिका खेल्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनालले नागरिक सङ्घसंस्था र सञ्चार जगतबिचको सहकार्यले समुदायप्रति दुवै पक्षलाई जिम्मेवार बनाउने बताए ।

नेपाल नागरिक समाजका अध्यक्ष बाबुराम लामिछानेले नागरिक सङ्घसंस्था र सञ्चार जगतको सहकार्यले सामाजिक सदभाव विकास गर्ने बताए । उनले भने-'नागरिक समाजको सञ्चार जगत र सञ्चार जगतको नागरिक समाजले निगरानी गरेमा एक अर्काको सुधारको पक्षहरू पत्ता लाग्छ ।'

गैरसरकारी संस्था महासङ्घ नुवाकोटका अध्यक्ष मीनकुमार केसीले नागरिक समाजले गरेका कामहरूलाई सञ्चार माध्यमले बाहिर ल्याउने भएकोले यिनिहरूबिचको सहकार्यको खाँचो रहेको बताए ।

नवदीप श्रेष्ठ