विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण
प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्रतिनिधि, नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ ६ गते आयोजना गरेको “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले विकासका लागि जनप्रतिनिधिको अग्रसरता र नागरिक समाज एवम् सञ्चारजगतको सहकार्यता अनिवार्य रहेको बताए ।
सम्बृद्धि भक्तपुर निर्माण गर्ने साझा उद्धेश्य पूरा गर्न भक्तपुरमा जनप्रतिनिधि, स्थानीय सरकार, नागरिक समाज र सञ्चारजगत सहयोगात्मक भूमिकामा सक्रिय रहेको चर्चा गर्दै उहाँले सरसफाईलगायत कतिपय अभियानलाई अब स्थानीय सरकारले स्वामित्व लिनुपर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिकाले अझैसम्म पनि जिल्ला समन्वय समितिलाई नस्विकारेको आरोप लगाउँदै सांसद बस्नेतले भने–“भक्तपुर नगरपालिकाले जिससको भूमिका स्वीकार्दैन । क्षेत्रीय विकास कोषको ४ करोड लिन एक पटक जिससमा आएको भक्तपुर नगरपालिका त्यसपछि जिसस चाहिँदैन भन्छ । विकासका लागि छिमेकी सूर्यविनायक नगरपालिकासँग समन्वय गर्न मान्दैन । यसले विकासको गतिलाई प्रभाव पारिरहेको छ ।”
हनुमन्ते र अरनिको राजमार्ग सफाईमा समेत भक्तपुर नगरपालिकाले सहभागिता नजनाउँदा मध्यपुर र सूर्यविनायक नगरपालिकामा सफाई सञ्चालन भएको तर भक्तपुर नगरपालिकापट्टि सफाई हुन नसकेको उनको भनाई छ ।
बस्नेतले भने–“जडिबुटीदेखि मध्यपुरथिमिको राधेराधेसम्म अरनिको राजमार्गको दायाँबायाँ दूबो सहितको हरियाली बनाउने भइयो । सडकमा सोलार बत्ति पनि हाल्ने भइयो । तर, यता राजमार्गको दक्षिणपट्टि सूर्यविनायक र उत्तरपट्टि रहेको भक्तपुरको समन्वय नहुँदा सोलार बत्ति र हरियाली निर्माणको काम अगाडि बढाउन सकिएन । भक्तपुर नगरपालिका समन्वय गरेर जानै चाहँदैन ।”
नगरकोट नगरपालिकाले पर्यटन शुल्क उठाउँदा विरोधमा लेख्ने पत्रकारले भक्तपुर नगरपालिकाले उठाएको शुल्कमा प्रशंसा गर्ने गरेको टिप्पणी गर्दै उनले सरकारको नियम सबै नगरपालिकालाई बराबर लाग्नु पर्ने धारणा राखे ।
भक्तपुर नगरपालिकाले पर्यटन शुल्क बापत सङ्कलन गरेको रकमको ४० प्रतिशत अन्य नगरपालिकाको पर्यटन विकासमा लगाउनु पर्ने उनको भनाई छ ।
बस्नेतले भक्तपुरमा अब शुसासन अभियान सञ्चालन गर्ने बताउँदै यहाँका कुनै पनि कार्यालयमा सेवाग्राहीको गुनासो नरहने र सबै कार्यालयलाई भ्रष्टाचार मुक्त बनाउने अभियान अब सुरू हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरमा निर्वाचन अघि र पछि भएको विकासको समीक्षा गर्नुपर्नेमा जोड दिँदै सङ्घ, प्रदेश र स्थानीय सरकार पारस्परिक सहयोगी हुन भन्नेकुरा केही स्थानीय सरकारले नबुझेको भनाई राखे ।
मन्त्रिपरिषदको निर्णय मान्दैनौँ भन्दै केही स्थानीय सरकारले आफ्नो अनुकूल निर्णय लागू गर्न खोजेका बताउँदै विकास पनि नल्याउने र आएको विकासको पनि विरोध गर्ने स्थानीय सरकारको बारेमा पनि सञ्चारकर्मीले समाचार लेख्नुपर्ने बताए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सबै निकायबाट जबाफदेहिताको भूमिका निर्वाह हुनसके विकासले गति लिने बताइन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सोम शर्मा (बजगाई)ले समाज रूपान्तरणका लागि सामाजिक संस्थाको भूमिका पनि प्रभावकारी हुने बताउँदै सामाजिक संस्थालाई पनि विकासमासँगै लैजानु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले विकासका लागि समाचार र सदाचार आवश्यक रहेको औल्याउँदै पत्रकारले विकासका लागि कलम क्रान्ति गर्नुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले पर्यटन र हस्तकलाको विकासले मात्रै भक्तपुरको आर्थिक विकास सम्भव भएको औँल्याउँदै भक्तपुर नगरपालिकाले पर्यटकबाट वार्षिक ४० करोड रुपियाँ उठाएपनि पर्यटकका लागि कुनै खर्च नगरेकोआरोप लगाए ।
नगरपालिकाले रात्रीकालिन पर्यटन विकासमा समेत खर्च नगर्दा नगरभित्र सञ्चालित होटलहरूको लगानी जोखिममा रहेको उनको आरोप छ ।
नेपाली चलचित्रका निर्देशक मदन घिमिरेले विकासमा सञ्चारजगतको भूमिका प्रभावकारी रहने भएकाले पत्रकारले सकारात्मक सोचका साथ समाचार लेख्नुपर्नेमा जोड दिनुभयो ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…