विकासका लागि सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वैशाख ११ गते चरिकोटमा आयोजित नागरिक समाज र सञ्चार जगतको विकासका लागि सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका सहभागीहरूले नागरिक समाज र सञ्चार जगत बिनाको विकास दिगो नहुने बताएका छन् ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले आम नागरिकले अपनत्व ग्रहण गर्ने विकास नै दिगो हुने र अपनत्व ग्रहण गर्नका लागि विकास साझेदार सँगसँगै सञ्चार जगत र नागरिक समाज हिड्नु पर्ने बताए ।

"सञ्चार जगतले नै विकासको सफलता र असफलता औँल्याउने भएकाले पारदर्शिता कायम गर्न र लाभान्वित वर्गको विकासमा अर्थपूर्ण सहभागिताका लागि सहकार्य अनिवार्य छ ।"-पाण्डेले भने ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य चिरञ्जिवी मास्केले विकास प्रभावकारी र दिगोपनका लागि सञ्चार जगत र नागरिक समाज मुख्य तत्व रहेकाले विकासका हरेक गतिविधिमा सहकार्य अनिर्वाय रहेको बताए । उनले विकासमा खवरदारी र निगरानी गर्ने काम सञ्चारकर्मीले गर्ने भएकाले अपारदर्शिता कायम राख्न चाहनेले सञ्चार जगतलाई बेवास्ता गर्ने परिपाटी रहेको बताए ।

जिल्ला समन्वय समिति दोलखाका सदस्य मुरारीराज शिवाकोटीले नयाँ संरचना अनुसार विकासका काम गर्दा पारदर्शितालाई ख्याल गर्नुपर्ने बताए । सञ्चार जगत र नागरिक समाजले उठान गरेका सवाल वास्तविक जनताका सवाल हुने भएकाले सबै निकायले सहकार्यको हात फैलाउन कञ्जुस्याइँ नगर्न आग्रह गरे ।

भीमेश्वर नपा-५ का अध्यक्ष हरिवंश चौलागाईले दिगो विकासका लागि नागरिक समाज र सञ्चार जगतसँगको सहकार्यले जिम्मेवार निकायलाई जबाफदेही बनाउने बताए । सञ्चारकर्मी रमेश खतिवडाले नागरिक समाज र सञ्चार माध्यम पार्टीमा देखिँदा जनतासँगको सम्बन्ध प्रगाढ हुन नसकेको उल्लेख गर्दै विकासमा जनप्रतिनिधि उत्तरदायी र पारदर्शी बन्नुपर्ने बताए । राजधानी दैनिकका सम्वाददाता दिपशङ्कर चौलागाईले विकासका काम पारदर्शी हुनुपर्ने औँल्याए ।

निगारानी समूह भीमेश्वर नपा-८ का संयोजक नारायण बस्नेतले सरकारी तथा गैरसरकारी संस्थाहरू पारदर्शी नभएको भन्दै विकासका हरेक गतिविधिमा सञ्चारकर्मी र नागरिक समाजसँग सहकार्य गर्न आग्रह गरे ।

1

1

1

उद्धव पोखरेल