विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य आवश्यक

विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य आवश्यक रहेको एक कार्यक्रममा सहभागीहरूले औंल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ ९ गते हेटौंडामा भएको 'विकासका लागि नागिरक समाज र सञ्चार जगतकाे भूमिका विषयक अन्तरक्रिया' कार्यक्रममा समाजको समग्र क्षेत्रको विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने सहभागीहरूले बताएका हुन् ।

makawanpur20761009

गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाले जनप्रतिनिधीहरूले अहिले भौतिक विकासलाई मात्र विकास मान्ने परिपाटी र अधिकांश बजेट भौतिक विकासमा विनियोजन गरिनुले सरकारका सबै तहको विकास प्रतिको बुझाई कमजोर रहेको बताउनुभयो । हालै मनहरी गाउँपालिका बालमैत्रि पालिका घोषणा भएकोप्रति असन्तोष जनाउँदै उहाँले मनहरीमा अझै बालमैत्री वातावरण बन्न नसकेको बताउनुभयो । जनप्रतिनिधीहरूमा प्रयाप्त पूर्वाधार तयार नहुँदै प्रचारमखि घोषणा गर्नमा हतार गर्ने प्रवृति बढ्दै गएको भन्दै यसमा सञ्चारकर्मीहरूले ध्यान दिन आग्रह गर्नुभयो ।

इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले विकासका काममा आवश्यक रकम विनियोजनमा नागरिकको सहभागिता नगराईनु, पारदर्शितामा ध्यान नदिनु, सेवाप्रवाह चुस्तदुरुस्त नहुनु, जनमुखि कानुन निर्माणमा ध्यान नजानु र यस्ता विषयमा नागरिक समाज र सञ्चारजगत मौन बस्ने प्रबृतिलाई आगामी दिनमा तोड्नु पर्नेमा जोड दिनुभयो ।

पत्रकार सुरेश श्रेष्ठले यथार्थमा समाजिक क्रियाकलापमा संलग्न संस्था र नागरिक समाज हुँ भन्नेहरू नै खोज्नुपर्ने अवस्था आउन थालेको बताउनुभयो । नागरिक समाजको रुपमा समाजमा देखिनेहरूले आफ्नो भूमिका र जिम्मेवारी बहन गर्दै समाजमा निगरानी बढाउनुपर्नेमा जोड दिन्भयो । यसका लागि सञ्चारक्षेत्रबाट पु¥याउनुपर्ने सहयोगका लागि सधैं तयार रहेको समेत उहाँले बताउनुभयो । साथै श्रेष्ठले विकासका लागि सामाजिक, सांस्कृतिक, आर्थिक, चेतना स्तर बृद्धि गर्ने कार्यमा रकम कम विनियोजित हुनुमा नागरिक समाज र सञ्चार जगत पनि जिम्मेवार रहेको धारणा राख्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले जनसरोकारका विषयमा पत्रकारका भूमिका देखिए पनि अझै आगामी दिनमा नागरिक समाज र सञ्चारकर्मी नियमित बैठक बसी विकासका गतिविधि दुरुस्त र जनचाहना अनुरुप गर्न सरोकारवाला पक्षलाई खवरदारी गर्न सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका प्रलेख अधिकृत सरीता दाहालले स्वागत गर्दै कार्यक्रमको औचित्यतामाथि प्रष्ट पार्नुभएको थियो ।

पुष्पराज अधिकारी