विकासका लागि नागरिक समाज र सञ्चारजगतबिच सहकार्य अपरिहार्य

विकासका लागि नागरिक समाज र सञ्चार जगतबिचको सहकार्य विषयक अन्तरक्रिया नुवाकोटमा वैशाख १० गते सम्पन्न भएको छ ।

इन्सेकको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले नागरिक सङ्घ संस्था र सञ्चार जगतबिचको सहकार्य अपरिहार्य रहेको बताए ।

Photo20180424Nuwakot (3)

नागरिक समाज र सञ्चारजगतको सहकार्य भएमा विकासले गति लिने, नागरिक समाजको गतिविधि र सरकारी निकायका गतिविधिहरू पारदर्शी हुने बताएका थिए ।

गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष मीनकुमार केसीले विकासका कामहरूलाई प्रभावकारी र दिगो बनाउनका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने बताए । उनले नागरिक समाज र सञ्चारजगतको निगरानीले दिगो विकासमा टेवा पुगी उपभोक्ताहरू लाभान्वित हुने बताए ।

Photo20180424Nuwakot (2)

नेपाल नागरिक समाजका जिल्ला अध्यक्ष बाबुराम लामिछानेले नागरिक सङ्घ संस्था र सञ्चार जगतले उठाएका विषयहरूलाई सरकारी निकायले गम्भीरतापूर्वक लिनु पर्ने बताए । उनले सञ्चार जगत र नागरिक सङ्घसस्थाका आआफ्नै समस्या र बाध्यताहरू रहे पनि विकासका लागि यी दुवै पक्षबिच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनालले नागरिक सङ्घ संस्था र सञ्चार जगतबिचको सहकार्यले समुदायप्रति दुबै पक्षलाई जिम्वेवार बनाउने बताए । उनले अहिले स्थानीय सरकारको रूपमा जिल्लामा स्थानीय तहमा जनप्रतिनिधि आएपछि सञ्चार जगत र नागरिक समाजले स्थानीय सरकारको कामलाई निगरानी गर्न नसकेको बताए । उनले स्थानीय सरकारले गरेको कामको निगरानीमा सञ्चार जगत र नागरिक समाज चुकेकोले तत्काल स्थानीय सरकारका गतिविधिमा ध्यान दिनु पर्ने बताए ।

Photo20180424Nuwakot (1)

नुवाकोट बारका अध्यक्ष देवराज कँडेलले नागरिक समाज र सञ्चार जगतले धेरै क्षेत्र समेट्ने र फराकिलो दायरा भएकोले सबै क्षेत्रमा चुस्त, दरूस्त, सेवा प्रवाह र विकासलाई तीव्र बनाउन सहकार्य आवश्यक भएको बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटकी अध्यक्ष शर्मिला थापामगरले नागरिक समाज र सञ्चार जगतले महिलाविरूद्ध हुने हिंसाका घटनाहरूलाई अझै उठान गर्नुपर्ने बताइन् ।

नवदीप श्रेष्ठ