वास्तविक लाभग्राहीको पहिचान हुन नसक्दा पुनर्निर्माणको कार्य ओझेलमा

भूकम्प गएको ४ वर्षबितिसक्दा मकवानपुर जिल्लामा रहेका ३४ हजार ३ सय ९ जना लाभग्राहीमध्ये १३ हजार ७० लाभग्राहीले मात्र घर पुनर्निर्माण सम्पन्न गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार ३१ गते हेटौँडामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन तर्फका फोकल पर्सन इन्जिनियर रबिन पाठकले सो जनाकारी दिएका हुन्  ।

Photo20190717Makwanpur (1)

पाठकले असार मसान्तसम्म जिल्लाका २७ हजार ५ सय ८९ लाभग्राहीले पहिलो किस्ताको, २२ हजार १ सय ६२ लाभग्राहीले दोस्रो किस्ता र १७ हजार २७ लाभग्राहीले तेस्रो किस्ताको अनुदान प्राप्त गरिसकेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टले भूकम्प पछिको पुनर्निर्माणमा काम हुँदाहुँदै पनि काम भएको नदेखिनु दुःखद् रहेको बताए ।

उनले भूकम्प पीडित भएको भन्दै पहिलो किस्ताको रकम लिएपछि दोस्रो किस्ताको रकम लिन आएकाहरू वास्तविक पीडित नरहेको भन्दै राज्यले वास्तविक पीडितहरूको पहीचान गरी व्यवस्थित नीति बनाउन आवश्यक रहेको बताए ।

Photo20190717Makwanpur (2)

उनले राज्यले वास्तविक पीडितहरूको पहिचान गर्न नसक्दा पुनर्निर्माणको कार्य ओझेलमा परेको बताए ।

यस्तै जिल्ला सहजीकरण समितिबाट ऐलानी जग्गामा आवास निर्माणका लागि जिल्लाका १ हजार ३ सय ८७ लाभग्राहीले सम्झौता गरेको भन्दै अनुदानको रकम लिनैको लागि मात्र पहिलो किस्ता लिएका १४ जनाले अनुदानको रकम फिर्ता गरेका छन् ।

त्यस्तो रकम फिर्ता नगर्ने गैरलाभग्राही व्यक्तिहरू पहिचान हुन नसक्दा लाभग्राहीको सङ्ख्या धेरै र आवास निर्माण सङ्ख्या थोरै देखिएको इन्जिनियर पाठकले बताए ।

पछिल्लो समय जिल्लामा गुनासो बढ्दै गएपछि गत असार मसान्तसम्म अन्तिम सर्वेक्षणको रूपमा ७ हजार ९६ घरको छुट तथा पुनःजाँच गरिएको र लाभग्राही पहिचान गरी प्राधिकरणमा सिफारिस गरिएको जानकारी दिँदै उनले जिल्लामा प्रवलीकरणको विधिबारे लाभग्राहीले नबुझेकोले गर्दा दोस्रो किस्ताको अनुदान प्रदान गर्न नसकिएको बताए ।

कार्यक्रममा गुनासो गर्दै सहभागीहरूले प्रवलीकरणको लागि प्राप्त हुने १ लाख रुपियाँ रकम अपुग भएको बताएका छन् ।

पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार प्रवलीकरण गर्ने हो भने २ लाख रुपियाँभन्दा बढी रकम लाग्ने भूकम्प पीडित नानीमाया गौतमले बताइन् ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरकी उपाध्यक्ष सरीता दाहालले गाउँगाउँमा जाने प्रविधिकहरूले प्रवलीकरणको बारेमा लाभग्राहीहरूलाई स्पष्ट तरिकाले बुझाउन नसकेकाबताइन् ।

पुष्पराज अधिकारी